झापा क्षेत्र नं. १ मा दुई खानेपानीलाई करीब ३२ करोड बजेट

2024-03-15 मा प्रकाशित

मेचीनगर, २ चैत । काँकरभिट्टा खानेपानी आयोजना र टिमाई शान्तिनगर एकीकृत खानेपानी आयोजना विस्तारका लागि ३२ करोड रुपैयाँ बजेट आउने निश्चित भएको छ ।

झापा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य एवम् नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको सचिवालयले उक्त जानकारी दिएको हो ।

सचिवालयले आज जारी गरेको प्रेस नोटका अनुसार टिमाई शान्तिनगर एकीकृत खानेपानी आयोजनाका लागि १७ करोड ८९ लाख रुपैयाँ र काँकरभिट्टा खानेपानी आयोजनाका लागि १३ करोड ९७ लाख रुपैयाँ बजेट अर्थमन्त्रालयले ग्यारेन्टी गरेको हो ।

ती दुबै खानेपानी परियोजनाको ठेक्का प्रक्रिया यही आर्थिक वर्ष २०८०र०८१ को चैत मसान्तसम्ममा भइसक्ने र तीन वर्षभित्रमा काम सम्पन्न हुने शर्माको सचिवालयले जनाएको छ ।

यही फागुन २१ गतेको अर्थमन्त्रीस्तरीय निर्णयबाट ती दुबै योजनाका लागि अर्थमन्त्रीले बजेट सुनिश्चित सहमति प्रदान गर्नु भएको हो ।

बहुवर्षीय आयोजना भएकाले यस वर्ष सुरु भएर तीन वर्षभित्रमा कार्य सम्पन्न हुने गरी बजेट विनियोजन हुने छ । सांसद् शर्माले धुलाबारी, बाहुनडाँगी, ज्यामिरगढी र चन्द्रगढी लगायतका खानेपानी योजनामा बजेट उपलब्ध गराउन पहल गरिरहनु भएको उहाँको सचिवालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु