मेरो गल्ती साबित भए होटल छोड्न तयार छु : सञ्चालक श्रेष्ठ

2024-03-28 मा प्रकाशित

मेचीनगर । होटल हिकोला हेरिटेजका सञ्चालक देवीभक्त श्रेष्ठले घरधनीले अदालतको आदेशको अवहेलना गरेको बताएका छन् । आज प्रेस क्लब मेचीनगरको कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले भने, ‘सम्मानित अदालतको आदेश नमान्ने छुट कसैलाई छैन, अदालतको आदेशको अवहेलना गर्दै घरधनीले होटलको नाम नै परिवर्तन गरी होटल सञ्चालन गरिरहेका छन् । जुन अदालतको आदेश विरुद्ध हो ।’
मुद्दाको अन्तिम टुंगो नलागेसम्म होटल सचालन गर्न दिनु भनेर अदालतले दिएको अन्तरिम आदेशको घरधनीले अवहेलना गरेको उनको भनाइ छ । काँकरभिट्टामा रहेको होटल हिकोला हेरिटेजका सन्दर्भमा घरधनी बिष्णुमाया श्रेष्ठ र होटल सञ्चालक देवीभक्त श्रेष्ठबिचको विवाद अदालतसम्म नै पुगिसकेको छ । हाल होटलको नाम परिवर्तन गरेर घरधनीले होटल सञ्चालन गर्दै आएका छन् ।
जसका सन्दर्भमा उच्च अदालत विराटनगर इलाम इजलासले अन्तरिम आदेश नै जारी गरिसकेको छ । तर, उक्त आदेश पालना नभएको होटल सञ्चालक श्रेष्ठले बताए । सोही विषयमा पत्रकार सम्मेलन गर्दै सञ्चालक श्रेष्ठले कानूनी तथा सामाजिक न्याय दिलाइदिन सबै पक्षसँग अपिल समेत गरेका छन् । उनले भने, ‘म कानून मान्न तयार छु, यदि मेरो गल्ती साबित भए होटल छाड्न तयार छु ।’ श्रेष्ठका अनुसार बिराटनगर उच्च अदालत इलाम इजलासले पहिलो पटक गत फागुन ६ गते अल्पकालिन अन्तरिम आदेश जारी गरेको थियो । त्यसपछि फागुन १३ गते अन्तरिम आदेश, तेस्रो पटक चैत ८ गते लिखित जवाफ र चौथो पटक चैत १२ गते अदालतको अपहेलना गरेको भन्दै ७ दिनभित्र घरधनीलाई लिखित जवाफ माग गरेको छ । होटल सञ्चालक श्रेष्ठले सम्मानीत अदालतको आदेश कार्यान्वयन हुनेमा आशाबादी रहेकाले सरोकार निकायसहित सम्बन्धीत सबैमा समन्वयको भुमिका निर्वाह गरिदिन आग्रहसमेत गरेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु