रोलिङ क्लब धुलाबारी सेमिफाइनलमा प्रवेश

2024-03-29 मा प्रकाशित

बाहुनडाँगी । कार्गिल सहिद सुरेश थापा क्षेत्रीको स्मृतिमा जारी दोस्रो जेसीज नकआउट प्रतियोगितामा रोलिङ क्लब धुलाबारी सेमिफाइनल प्रवेश गरेको छ । शनिश्चरे फुटबल क्लबलाई २–१ ले पराजित गर्दै धुलाबारी सेमिफाइनल प्रवेश गरेको हो ।
रोलिङ क्लब धुलाबारीका लागि १९ औँ मिनेटमा पुजन राईले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसैगरी, धुलाबारीका लागि २६ औँ मिनेटमा निरज कार्कीले टिमको अग्रता दोब्बर बनाएका थिए । अभय धिमालको क्रस पासलाई सदुपयोग गर्दै हेडमार्फत कार्कीले बललाई जाली चुमाएका थिए । पहिलो हाफ २–० ले पछाडि परेको शनिश्चरेले दोश्रो हाफमा केही उत्कृष्ट मुभ बनाएको थियो । दोश्रो हाफको १० औँ मिनेटमा शनिश्चरेका निमा तामाङले गरेको प्रहार धुलाबारीका गोलरक्षक आकाश खड्काले बचाए । लगत्तै १ मिनेटमा शनिश्चरेका सौरभ लिम्बूले गरेको क्रस पासलाई सदुपयोग गर्दै प्रदिप बुढाथोकीले गरेको हेड दोश्रो बारमा लाग्दै फर्किएको थियो ।
शनिश्चरेका लागि खेलको ६२ औँ मिनेटमा सौगात तामाङले गोल गर्दै खेलमा फर्काउने प्रयास गरेका थिए । ६६ औँ मिनेटमा शनिश्चरेका सौगात तामाङकै प्रहारलाई धुलाबारीका अनुशरण राईले डिफेन्स लाइनबाट क्लियर गरेका थिए । थप गोल गर्न शनिश्चरेको प्रयास धुलाबारीका डिफेन्स बाधक बन्दा खेल धुलाबारीले २–१ ले जितेको थियो । झापा ११ बाट ‘बी’ डिभिजन खेलिसकेका अधिकांश खेलाडी मैदान उतारेको शनिश्चरे फुटबल क्लबको खेलमा दबदबा रहे पनि स्कोर गर्न नसक्दा खेल गुमाउनु परेको थियो । खेलको म्यान अफ दी म्याच धुलाबारीका निरज कार्की घोषित भएसँगै नगद १ हजार ५ सय रुपैयाँ, ट्रफी प्राप्त गरे ।
बाहुनडाँगी जेसीजको आयोजनामा चैत १५ देखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठवटा टिमले सहभागिता जनाएका छन् । बिजेता टिमले एक लाख १ हजार ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ५१ हजार नगदसहित ट्रफी मेडल र प्रमाण पत्र पाउनेछन् । त्यसैगरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, सर्वाधिक गोलकर्ता, उदयमान खेलाडीले नगद ५ हजारसहित ट्रफी र मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
बाहुनडाँगी जेसीज सचिवालय निर्माण गर्ने हेतुले आयोजित फुटबल प्रतियोगितामा झापा गोल्डकप र जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहेको छ । भोलिको खेल सनसिटी फुटबल क्लब र ब्रदर्स युनाइटेड चन्द्रगढी हुने आयोजकले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु