मेचीनगर– ८ स्थित शान्ति नव दुर्गा मन्दिरमा श्रीमद्भागवत महापुराण सुरु

2024-04-01 मा प्रकाशित

मेचीनगर । मेचीनगर – ८ स्थित शान्ति नव दुर्गा मन्दिरमा आजबाट श्रीमद्भागवत महापुराण सुरु भएको छ ।
मन्दिर समितिको आयोजना तथा धार्मिक अनुष्ठान सेवा समाजको सहकार्यमा आयोजित पुराणको उद्घाटन मेचीनगरका निवर्तमान मेयर बिमल आचार्यले गरे । कार्यक्रमका प्रमुख अतिथि आचार्यले धार्मिक अनुष्ठानले समाजलाई सतमार्गमा डोर्याउने बताए ।


पुराण आयोजक समितिका संयोजक केदार गिरीको सभापतित्वमा आयोजित उद्घाटन कार्यक्रममा समाजसेवी डम्बर पुरी, विष्णुलाल गरी, लगायतको आतिथ्यता रहेको थियो । पित्रृ उद्धार एवम् नेपाललाई सतीको श्राप मुक्त बनाउने पवित्र उद्देश्य लिएर धार्मिक अनुष्ठान सेवा समाजको पूर्व संकल्पित १०८ भागवत महापुराण अन्तर्गत संगीतमय श्रीमद्भागवत महापुराण आयोजना गरिएको संयोजक गिरीले बताए । आगामी चैत्र २६ गते सम्म सञ्चालन हुने महापुराणमा पं. श्री मदन खनाल ज्यूको प्रमुख बाचकत्व तथा पं. माधवशरण खनाल ज्यूको उपवाचकत्वमा संगीतमय कथा वाचन हुने छ । पुराणमा ख्यातिप्राप्त कलाकारहरुले संगीतमय भजन प्रस्तुत गर्ने छन् । पुराणलाई थप रोचक बनाउन हरेक साँझ देवलिला समेत प्रस्तुत गरिने भएको छ ।
औपचारिक उद्घाटन अघिबिभिन्न धार्मिक संघ–संस्थाको सहभागितामा कलश यात्रा निकालिएको थियो । मन्दिर परिसरबाट निकालिएको कलश शोभायात्रा बिभिन्न टोल हुँदै पातालगंगा पुगेर जलभरी पुन्यचोक, सिर्जना चोक, निन्दा बाँध हुँदै पुनः पुराण स्थल पुगेको थियो । शोभा यात्रामा ठूलो संख्यामा भक्तजनहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन मेचीनगर –८ का वडासदस्य विष्णु भट्टराईले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु