पत्रकार भण्डारी र एम्बुलेन्स चालक खड्का पुरस्कृत

2024-04-03 मा प्रकाशित

मेचीनगर, २१ चैत । मेची उद्योग वाणिज्य संघले बुधबार संघको १९ औं साधारणसभाको अवसर पारेर पत्रकार अम्बिका भण्डारीलाई पुरस्कृत गरेको छ ।
राष्ट्रिय समाचार समिति झापाकी समाचारदाता भण्डारीलाई संघले आर्थिक पत्रकारिता पुरस्कार’बाट सम्मान गरेको हो । पत्रकार भण्डारीलाई २१ हजार राशी र सम्मान पत्रले पुरस्कृत गरिएको छ ।


पत्रकार भण्डारी दुई दशकदेखि निरन्तर पत्रकारिता क्षेत्रमा क्रियाशील छिन् । संघले २०६९ सालदेखि आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकारलाई पुरस्कृत गर्दै आएको छ ।
सोही कार्यक्रममा उत्कृष्ट कर्मचारीको रुपमा एम्बुलेन्स चालक मिनबहादुर खड्का (कुमार)लाई नगद रु १५ हजारसहित सम्मान पत्रले पुरस्कृत गरिएको छ ।

साधारणसभाको उद्घाटन कोशी उद्योग बाणिज्य महासंघका अध्यक्ष राजेन्द्र राउतले गरेका थिए । अध्यक्ष राउतले सरकारसँग तयारी वस्तु आयातमा दोब्बर कर बढाउन र कच्चा पदार्थ आयातमा सहुलियत दिन आग्रह गरे ।

कार्यक्रममा बागमती प्रदेशका पूर्व प्रदेश प्रमुख विष्णु प्रसाई, मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मी, नेपाल पत्रकार महासंघका पूर्व महासचिव चन्द्र भण्डारी, उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, महासंघका केन्द्रीय सदस्य नरेन्द्र खड्का, झापा उद्योग संघका अध्यक्ष यामबहादुर श्रेष्ठ, मेचीनगर नगरपालिका पूर्व प्रमुख विमल आचार्य, मेचीनगर नगरपालिकाका आर्थिक शाखा प्रमुख पदमबहादुर कार्कीलायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा अध्यक्ष प्रसाईले संस्थाले बर्षभरि गरेका गतिविधिको बारेमा बार्षिक प्रतिवेदन प्रस्तुत गरे । संस्थाका महासचिव दिनेश शाक्यले सञ्चालन गरेको कार्यक्रमको समापन बरिष्ठ उपाध्यक्ष कपिल क्षेत्रीले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु