अनुसन्धान प्रभावित पार्ने काम भयो : संरक्षणकर्मी

2024-04-18 मा प्रकाशित

मेचीनगर, ६ बैशाख । केही दिन अघि मेचीनगर–१२ स्थित कालिका सामुदायिक वनमा दुईटै दाह्रा काटिएको अवस्थामा मृत भेटिएको हात्तीलाई गोली प्रहारगरी मारिएको पुष्टि भएपनि शरीरबाट गोली ननिकाली पुरेपछि सरोकारवालाहरुले बन कार्यालयको काम प्रति रोष प्रकट गरेका छन् ।
शरीरबाट गोली ननिकाली पुरेको कारण अनुसन्धान प्रभावित हुन सक्ने भन्दै उनीहरुले तत्काल अनुसन्धान गरी दोसीलाई कार्वाहीको माग समेत गरेका छन् ।
आज काँकरभिट्टा माविको खेल मैदानमा संरक्षणकर्मीहरु अर्जुनकुमार कार्की, शंकर लुईटेल र देबेन्द्र खरेलले पत्रकार सम्मेलनको आयोजना गरेर तस्करीलाई नियन्त्रणमा लिएर कारवाही गर्न माग गरेका हुन् ।


मेचीनगर–४ का वडाध्यक्ष समेत रहेका संरक्षणकर्मी कार्कीले मेचीनगर–१२ स्थित कालिका सामुदायिक वनमा हात्ती मरेको ३ दिनसम्म कसैले नदेख्नु रहस्यमय रहेको बताए ।
चैत ३० गते हात्ती मारिएको ठाउँमा डडेलो लगाउनु, ३ दिनसम्म सामुदायिक वनका पदाधिकारी, कर्मचारी, हेरालु, उपभोक्ता कसैलाई थाहा नहुनु लगायतका कारण हात्तीको मृत्यु रहस्यमय रहेको उनको दावी छ । दुईटै दाह्रा काटिएको अवस्थामा मृत भेटिएको हात्तीलाई तीन राउण्ड गोली हानेर मारेको डिभिजन वन कार्यालय झापाले बताएको छ ।
बैशाख ४ गते मंगलबार मृत भेटिएको हात्तीको भोलिपल्ट पोष्टमार्टम गर्र्दा वन्यजन्तु सम्बन्धी जान्ने शिकारीले कान छेउमा ३ राउण्ड गोली हानेर हात्ती मारेर दुईटै दाह्रा लगेको डिभिजन वन कार्यालय झापाका प्रमुख (डीएफो) मेघराज राईले पुष्टि गरेका थिए ।
गोली हड्डीभित्र छिरेकाले निकाल्न नसकिएको भन्दै हात्तीलाई जंगलमा नै खाल्डो खनेर पुरिएको कार्यालयले जनाएको छ । कार्कीका अनुसार हड्डीभित्र छिरेको गोली निकाल्न नसकेर खाल्डो खनेर पुर्नु शिकारीसँग पुग्ने बाटो अर्थात प्रमाण नष्ट गर्नु शंकास्पद छ ।
डिभिजन वन कार्यालय र कालिका सामुदायिक वनका मान्छेलाई पनि अनुसन्धानको दायरामा ल्याउनु पर्ने वडाध्यक्ष कार्कीको भनाई छ ।

संरक्षणकर्मी लुईटेल र मेची चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष समेत रहेका खरेलले डिभिजन वन कार्यालय र कालिका सामुदायिक वन पनि जिम्मेवार रहेकाले जतिसक्दो चाँडो छानविन गरी दोषीलाई कडा कारवाही गर्न माग गरेका छन ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु