नगरप्रमुख बुढाथोकीले गरे, बाहुनडाँगीमा खानेपानी सिस्टमको उद्घाटन

2024-04-25 मा प्रकाशित

मेचीनगर । मेचीनगर सहलगानी आयोजना अन्तरगत बाहुनडाँगीमा निर्माण सम्पन्न भएको बाहुनडाँगी खानेपानी  सिस्टमको बिहीबार एक कार्यक्रमकी बीच उद्घाटन गरिएको छ ।
बाहुनडाँगी क्षेत्रका जनतातालाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यले ६ करोड ३८ लाख १३ हजार ४१२ रुपैयाँको लागतमा निर्माण गरिएको उक्त सिस्टमको उद्घाटन् मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गरे । कार्यक्रमका प्रमुख अतिथि बुढाथोकीले मेचीनगरका अझै धेरै ठाउँका जनतामा शुद्ध खापानीको पहुँच नपुगेको बताए । उनले मेचीनगरमा रहेका तीन वटा ठूला खानेपानी काँकरभिट्टा खानेपानी, धुलाबारी खानेपानी र चारआली खानेपानीले मेचीनगरका सम्पूर्ण जनतालाई खानेपानी पहुँच पुर्र्याउनेगरी गृह कार्य थाल्न सुझाएका थिए ।


मेचीनगरका निवर्तमान मेयर बिमल आचार्यले मेचीनगरमा बृहत खानेपानी सञ्चालनकोलागि नयाँ अवधारणाका साथ आफ्नो कार्यकालमा सहलगानी कार्यक्रम सञ्चालन गरी बाहुनडाँगीमा खानेपानीको टेंकी निर्माण कार्य सुरु गरिएको र आज त्यसले मुर्त रुप लिएको बताए । उनले यस अभियानलाई सफल पार्न काँकरभिट्टा, धुलाबारी र चारआली खानेपानी समितिले महत्वपूर्ण सहयोग पुर्याएको धन्यवाद ब्यक्त गरे ।


३१ महिनामा निर्माण सम्पन्न गर्नेगरी २०७८ असोजमा सुरु गरिएको सो योजना २०८१ बैशाख ३१ गते सम्पन्न गर्ने सम्झौता पत्रमा उल्लेख छ । ठेकेदार कम्पनीले निर्धारित समयमै सो योजना सम्पन्न गरेको भन्दै खानेपानी लगायतका संस्थाले धन्यवाद समेत ज्ञापन गरेका थिए । चार कठ्ठा जमिन क्षेत्रफलमा सो संरचान निर्माण भएको छ । खानेपानी टेंकी निर्माणकोलागि स्थानीय टेक बहादुर कार्की र अम्बिका कार्कीले १, १ कठ्ठा जमिन निःशुल्क प्रदान गरे पछि समितिले २ कठ्ठा जमिन खरिदगरी खानेपानी टेंकी निर्माण सुरु भएको थियो । सह लगानीको कुल लागत १६ करोड, ६६ लाख ७३ हजार ८१४ रुपैया रहेको छ । जस अन्तरगत धुलाबारीमा ४ करोड ८० लाख ७६ हजार २१० रुपैयाँ र चारआली तर्फ ४ करोड ३८ लाख ४९ हजार ५५ रुपैयाँको लागतमा आयोजना निर्माण भइरहेका छन् ।


मेचीनगर सहलगानी एवम काँकरभिट्टा खानेपानी तथा सरसफाइ संस्थाका अध्यक्ष राजकुमार पराजुलीको सभापतित्वमा सम्पन्न कार्यक्रममा मेचीनगरपालिकका निवर्तमान मेयर विमल आचार्य, मेचीनगर ४ का वडाध्यक्ष अर्जन कार्की, २ नम्बर वडाका वडाध्यक्ष दीपक बराल, लगायतलाई सम्मान गरिएको थियो ।
कार्यक्रमको सञ्चालन काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका सचिव एवम् सहलगानीका सदस्य दिलिप सुब्बाले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु