औषधि नखाएर रोग सार्ने छुट कसैलाई छैन् : कोशी प्रदेश सभा सदस्य चुडाल

2024-04-27 मा प्रकाशित

भद्रपुर,१५ बैशाख । कोशी प्रदेश सभा सदस्य छवि चुडालले हात्तीपाइले रोग विरुद्धको औषधि खाएर जिल्लामा अभियानको शुभारम्भ गरेका छन् ।

शुक्रबार भद्रपुर स्थित जिल्ला समन्वय समितिको कार्यालयमा स्वास्थ्य कार्यालय झापाले आयोजना गरेको हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान शुभारम्भ कार्यक्रममा सांसद चुडालले औषधि खाएर अभियान सुरु भएको घोषणा गरेका थिए । कतिपयले औषधि नखाइदिँदा हात्तीपाइले विरुद्धको अभियान प्रभावकारी हुन नसकेको भन्दै कुनै बाहानाबाजीमा औषधि नखाएर रोग सार्ने छुट अव कसैलाई नभएको बताए ।

शुभारम्भ कार्यक्रममा सांसद चुडालसँगै, जिल्ला समन्वय समितिका प्रमुख विश्वनाथ बराल, उपप्रमुख शान्त रोक्का, मेची प्रादेशिक अस्पतालका प्रमुख डा।रामबाबु खड्का, प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला र सुरक्षा प्रमुखहरुले पनि हात्तीपाइले विरुद्धको औषधि खाएका थिए ।

कार्यक्रममा सांसद चुडाल, जिल्ला समन्वय समितिका प्रमुख बरालले झापाका १० लाख नागरिकले हात्तीपाइले विरुद्धको औषधि खान आग्रह गरेका थिए ।

स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटी र फोकल पर्सन विश्वनाथ श्रेष्ठले हात्तीपाइ रोगबाट हुने खतरा, समस्या र समाधानका विषयमा जानकारी गराएका थिए ।

हात्तीपाइले विरुद्धको औषधि खाने अभियान यही बैशाख १६ गतेदेखि ३० गतेसम्म झापामा सञ्चालन हुने छ । यसपटक झापा, धनुषा, सर्लाही, महोत्तरी, रौतहट, रसुवा र कपिलवस्तुमा हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान सुरु गर्न लागेको हो ।

पहिला २ वर्षदेखि माथि ७० वर्ष सम्मकालाई उक्त औषधि खुवाइने गरेको थियो । गतवर्षदेखि व्यक्तिको उचाई अनुसार औषधि सेवन गर्न स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ । त्यसका लागि जिल्लामा ६०६ जना महिलासहित ७५० जना स्वास्थ्यकर्मी खटिनेछन् ।

अहिले ७ दिन कटिसकेका गर्भवती र सुत्केरी महिला, २ वर्ष माथिका, क्यानसर र अन्य कारणले ओछ्यानमा थला नपरेका बाहेक सबैलाई उक्त औषधि खान कार्यालयले बताएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार गतवर्ष झापामा ७ लाख ७६ हजारले उक्त औषधि सेवन गरेका थिए । यसपटक कोहि पनि नछुटुनन् भनेर अभियानलाई अलिक फरक ढंगले समुदायसँग पुग्ने गरीको तयारी गरिएको बताइएको छ ।

गतवर्ष जिल्लामा १४० जना खुट्टा सुनिएको र हाइड्रोसिल भएका व्यक्ति भेटिएको स्वास्थ्य कार्यालय झापाका प्रमुख बाराकोटीले जानकारी दिए ।

‘केन्द्र स्वास्थ्यमा कुल बजेट करिव ६० अर्व छ’, बाराकोटीले भने–‘त्यसको १ अर्व हात्तीपाइले विरुद्धको औषधि खाने अभियान राखिउको छ । झापामा ९ करोड ३४ लाख रुपैयाँ छुट्टाइएको छ । झापामा अहिलेको १३ औँ पटकको अभियान सुरु गरिएको छ ।’

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु