पत्रकार महासंघ झापाको साधारण सभामा सम्मान

2024-04-30 मा प्रकाशित

झापा, १८ बैशाख । नेपाल पत्रकार महासंघ झापा शाखाले पत्रकारिता क्षेत्रमा तीन दशकदेखि अनवरत योगदान पुर्याइरहनु भएको अग्रज पत्रकार केशव आचार्य र कृष्ण हुमागाईलाई मोती पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।

शाखाको सोमवार १४ औं जिल्ला अधिवेशनको अवसरमा रु. एक लाख एक हजार १११ नगद राशीसहितको उक्त पुरस्कारबाट पत्रकारद्वयलाई सम्मानित गरेको हो । नेपालका पहिलो पत्रकारका रुपमा सम्मानित मोतीराम भट्टको स्मृतिमा उक्त पुरस्कार स्थापना गरिएको महासंघका झापा शाखा अध्यक्ष एकराज गिरीले बताउनुभयो ।

प्रतिनिधिसभाका सभामुख देबराज घिमिरेले उक्त कार्यक्रममा दुबै पत्रकारलाई सम्मान पत्र प्रदान गर्नु भयो । हरेक तीन वर्षमा यो पुरस्कार वितरण हुँदै आएको छ ।

सोही अवसरमा झापाको पहिलो पत्रिका ‘केटो’को नाममा नेपाल पत्रकार महासंघ झापाले स्थापना गरेको केटो पत्रकारिता पुरस्कारबाट पूर्वाञ्चल दैनिकको अनलाइन संस्करणका सम्पादक नरेन्द्र ढकाललाई पुरस्कृत गरिएको छ । उक्त पुरस्कारको नगदराशी रु। २५ हजार रहेको छ ।

अमेरिकाको टेक्सासमा रहेको हेम सरिता फाउन्डेशनले स्थापना गरेको ‘टंकप्रसाद रमादेवी पाठक पत्रकारिता पुरस्कार’ अग्रज पत्रकार एवम् साप्ताहिक समाचारका कार्यकारी सम्पादक राजवावु शंकरलाई प्रदान गरिएको छ । पुरस्कारको नगदराशी रु। ५० हजार ५५५ रहेको छ ।

महासंघले यसवर्षदेखि विभिन्न विधाका पत्रकारिता पुरस्कार स्थापना गरी वितरण गरेको छ । लैङ्गिक समानता पत्रकारिता पुरस्कारबाट बिराट एफएमकी लीला अनमोल र जनआन्दोलन साप्ताहिककी रेजिना गौतम सम्मानित हुनुभएको छ । यो पुरस्कारको नगदराशी रु। २५ हजार रहेको छ ।

समावेशी सक्रिय पत्रकारिता पुरस्कारबाट कान्तिपुर टेलिभिजनका पत्रकार गणेशमान मुखियालाई प्रदान गरिएको छ । यस पुरस्कारको नगदराशी रु। २५ हजार ५५५ रहेको छ ।

कार्टुन पत्रकारिता पुरस्कारबाट पवन राजवंशी, अनलाइन पत्रकारिता पुरस्कारबाट शब्दपत्र डटकमका सम्पादक उद्धव पुरी, छापा पत्रकारिता पुरस्कारबाट मेची साप्ताहिकका सम्पादक झुलन रेग्मी, टेलिभिजन पत्रकारिता पुरस्कारबाट हिमशिखर टेलिभिजनका सुदिप अधिकारी र रेडियो पत्रकारिता पुरस्कारबाट रेडियो भिजनका पुष्प बराललाई सम्मानित गरिएको छ ।

उदीयमान पत्रकारिता पुरस्कारबाट आँगन एफएमका चन्द्र बस्नेत र खबर मञ्चका सम्पादक प्रकाश पौडेललाई पुरस्कृत गरिएको छ । उक्त पुरस्कारहरुको नगदराशी रु। ११ हजार १११ रहेको छ । मेची महाकाली पहिलो साइकल यात्री पत्रकार मुक्ति पौडेललाई समेत सम्मान गरिएको छ ।

महासंघको झापा शाखाले अधिवेशन उद्घाटन समारोहमा अग्रज पत्रकारहरु नकुल काजी, गोबिन्दचन्द्र छेत्री, गञ्जबहादुर दाहाल, शिरोमणि खतिवडा सान्दाई, लीला बराल, लेखनाथ परदेशी, गोपाल गिरी, चिन्तामणि दाहाल, नेत्र पाठक, केशव आचार्य र लक्ष्मण ढकाललाई दीर्घ सेवा सम्मान प्रदान गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि सभामुख देवराज घिमिरे, प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्मा, नेकपा माओबादी केन्द्रका कोशी संसदीय दलका नेता इन्द्र आङ्बो, नेपाल पत्रकार महासंघकी केन्द्रीय उपाध्यक्ष वाला अधिकारी र महासंघका पूर्व महासचिव चन्द्र भण्डारीले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु