प्रेस युनियनको स्थापना दिवसमा पत्रकार लुइटेल र शिवाकोटी सम्मानित

2024-05-26 मा प्रकाशित

बिर्तामोड, जेठ १३ । नेपाल प्रेस युनियन झापाले आज एक कार्यक्रमकाबीच दुई जना पत्रकारलाई सम्मान गरेको छ । प्रेस युनियनको ३३ औं स्थापना दिवसको अवसर पारेर एक जना अग्रज र एक जना नवोदित पत्रकारलाई सम्मान गरिएको प्रेस युनियन झापाका अध्यक्ष गिरिराज भट्टराईले जानकारी दिए ।

नेपाल प्रेस युनियन झापाले विर्तामोडमा आयोजना गरेको कार्यक्रममा टंकप्रसाद रमादेवी पत्रकारिता पुरस्कारबाट पुराना पत्रकार लक्ष्मी लुइटेल र रमादेवी–टंकप्रसाद पाठक स्मृति उदयीमान पत्रकारिता पुरस्कारबाट सञ्जु शिवाकोटीलाई सम्मान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले सम्मानपत्र, दोसल्ला र नगद ११ हजार राशिसहित दुवैलाई सम्मान गर्नुभयो । उक्त पुरस्कार टंकप्रसाद र रमादेवी पाठकका छोराबुहारी यज्ञप्रसाद–सकुन्तला पाठक र कृष्णकुमार–टिकादेवी संग्रौलाले दुई बर्षअघि स्थापना गर्नुभएको हो ।

कार्यक्रममा प्रमुख अतिथी नेपाली कांग्रेस झापाका जिल्ला सभापति थेवे, कांग्रेस झापाका सचिव कृष्ण हुमागाँई, प्रेस युनियनका केन्द्रीय सचिव रेजिना गौतम, नेपाल प्रेस युनियन कोशी प्रदेश उपाध्यक्ष ज्ञानेन्द्र निरौला, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष तारामणि सापकोटा, प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदाल, प्रेस सेन्टर झापाका सचिव पुष्प खड्का, मिडिया नेपाल झापाका अध्यक्ष रञ्जित प्रसाई, समाजवादी प्रेस संगठनका अध्यक्ष शम्भुजित दाहाल, सञ्चारिका समूह झापाका अध्यक्ष लिला अनमोललगायतले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रमका अधिकांश वक्ताहरुले नेपाल पत्रकार महासंघको नजिकिएको निर्वाचनमा नेतृत्व चयन गर्दा सहमति र सहकार्यवाट सर्वसम्मत नेतृत्व चयनका लागि भूमिका खेल्न प्रेस युनियनलाई आग्रह गरेका थिए ।
प्रेस युनियन झापाका अध्यक्ष गिरिराज भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष इन्दु पूर्वेलीले स्वागत र सञ्चालन सचिव अर्जुन राजवंशीले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु