मेची कृषक सहकारीले मनायो २१ औं धान दिवस

2024-06-29 मा प्रकाशित

मेचीनगर,१५ असार । मेची कृषक बहुमुखी सहकारी संस्थाले शनिबार २१ औं धान दिवस उल्लास पूर्ण रुपमा मनाएको छ । आफ्ना सदस्य कृषकहरुलाई ब्यवसायिक कृषि उत्पादकनालागि प्रोत्साहित गर्दै आएको सहकारीले सहकारी संस्थाका सदस्य मेचीनगर ५ निवासी मोतिलाल पुरीको करिव १० कठ्ठा खेतमा धान रोपेर धान दिवस मनाएको हो ।


मेची कृषक सहकारी संस्थाका अध्यक्ष हरि बुढाथोकीको सभापतित्वमा आयोजित औपचारिक कार्यक्रमको उद्घाटन मेचीनगर –५ का वडाध्यक्ष कनक बहादुर कार्कीले गरे । प्रमुख अतिथि कार्कीले ब्यावसायिक कृषि उत्पादन तर्फ मेची कृषक बहुमुखी सहकारीले प्रभावकारी काम गर्दै आएको बताए । भारतबाट वार्षिक रुपमा ४५ अर्वको धान आयात भइरहेको बताउँदै उनले कृषि उत्पादको उर्भर भूमि मानिएको नेपाललाई बैज्ञानिक र ब्यावसायिक कृषि उत्पादन तर्फ कृषकलाई अभिप्ररित गर्न सके नेपाललाई धानमा आत्मनिर्भर बनाउन सकिने बताए । आयातलाई प्रतिस्थापन गर्नेगरी हरेक कुराको उत्पादनमा जुट्न सके देशले चाँडै समृद्धि हासिल गर्ने उनको भनाई थियो । वडाले समेत कृषिक्षेत्रलाई प्राथमिकतामा राखेको बताएका वडाध्यक्ष कार्कीले मेचीनगर –५ मा पाँचओटा डिप बोरिङ जडान कूलोको मुहानको दीगो व्यवस्थापनका साथै धानको बिउमा अनुदानको कार्यक्रम ल्याएर मेची कृषक सहकारीसँग सहकार्य गरिरहेको समेत बताए ।


कार्यक्रममा सहकारी संस्थाका सल्लाकार कुलदीप गिरी,  सञ्चालक सदस्य रुपसागर अधिकारी, सूर्य अधिकारी, कमल थापा, पोष्ट हार्भेष्ट सञ्चालक उपसमिति सदस्य ताकेन्द्र तामाङ, चेतबहादर राउत, लगायत स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो । सहकारी संस्थाका उपाध्यक्ष एवम् सामुदायिक पोष्ट हार्भेष्टका संयोजक दुर्गा प्रसाद सापकोटाले स्वागत गर्दै मेची कृषक सहकारीले सदस्यहरुको भावना अनुरुप काम गरिरहेको दावी गरे । उनले सहकारीले सामुदायिक पोष्ट हार्भेष्ट मार्फत धान, गहुँ, राजमा, तोरी, लगायतका विउविजन उत्पादनका साथै सदस्य कृषकहरुको धान उच्च मूल्यमा खरिद गरी गुणस्तरीय चामल उत्पादन गर्दै कोशी प्रदेशका बिभिन्न जिल्लामा आफ्नो बजार विस्तरगरी गरिसकेको बताए । उनले मेचीनगरलाई समृद्ध बनाउन जनप्रतिनिधिहरुको सकारात्मक भूमिका हुन पर्ने भनि सुझाव समेत दिएका थिए । कार्यक्रमको सञ्चालन मणि आचार्यले गरेका थिए । औपचारिक कार्यक्रम पछि प्रमुख अतिथि सहित सहभागिहरुले उत्साहका साथ धान रोपेका थिए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु