हात्ती आगमन सुचना प्रविधि केन्द्र बाहुनडाँगीमा स्थापना : यसको भरपुर प्रयोग गर्न सभामुख घिमिरेको आग्रह

2024-07-05 मा प्रकाशित

बाहुनडाँगी । नेपालमै पहिलो पटक हात्ती आगमन सूचना प्रविधि केन्द्र झापाको मेचीनगरमा सञ्चालनमा आएको छ । उक्त केन्द्रको मेचीनगर—४ बाहुनडाँगीमा शुक्रबार प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले शुभारम्भ गरे । मेचीनगर नगरपालिकाले आयोजना गरेको हात्ती आगमन सुचना केन्द्र शुभारम्भ समारोहमा सभामुख घिमिरेले आफ्नै मोवायलमा लुना जीपीएस एप डाउनलोड गरी त्यसको बटम थिचेर सुचना प्रवाह गरी कन्ट्रोल रुममा रहेको स्क्रिनमा साइरन बजेपछि विविधवत रुपमा केन्द्रको शुभारम्भ भएको थियो । बाहुनडाँगी छोटी भन्सारको भवनलाई कन्ट्रोल रुम बनाइएको छ भने त्यही स्क्रिन राखिएको छ । यस एप मार्फत हात्ती आएको संकेत कसैले गरेमा यहि साइरन बज्नेछ र सर्वसाधारणले हात्ती आएको खवर पाउने छन् ।

यस अघि प्रकृति प्रकोप सम्बन्धी सुचनाका लागि देशका धनगढी महानगर पालिका, टीकापुर, ठाकुरबाबा, सिद्धार्थ नगरपालिकागरी चारवटा स्थानीय तहमा प्रकृति प्रकोप आगमन सुचना प्रविधि केन्द्र सञ्चालनमा आएको छ । हात्तीका लागि देशभरमै पहिलो पटक झापाको मेचीनगरमा केन्द्र सञ्चालनमा ल्याईएको यसका सहजकर्ता उज्यालो नेपाल बर्दिया र समाजका लागि युवाको सहकार्य धनगढीका सल्लाहकार रमेश थापाले जानकारी दिए । उज्यालो नेपाल बर्दिया र समाजका लागि युवाको सहकार्य धनगढी नामक संस्थाले करिव ८ लाख रुपैयाँको लगानीमा यो प्रविधि सञ्चालनमा ल्याएको मेचीनगर वडा नम्बर —४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले जानकारीदिए ।

शुभारम्भ समारोहमा बोल्दैं प्रमुख अतिति सभामुख घिमिरेले देशका थुप्रै ठाउँमा जंगली हात्तीको समस्या भएपनि झापाका विभिन्न पालिका समेत त्यसबाट अछुतो नरहेको बताए । उनले झापाको बाहुनडाँगी बासीले हात्तीका कारण थप समस्या झेल्नु परेको बताए ।

जंगली हात्तीको आतंकका कारण हरेक वर्ष मानिसको मृत्यु सँगै हजारौं घरपरिवार विस्थापित हुने तथा यसबाट ठूलो धनजनको क्षति, खेतीयोग्य जमिनको विनाश समेत हुने गरेको छ । यसले जनजीवनमा ठूलो असर पारेको सभामुख घिमिरेको भनाई थियो । पछिल्लो समय विज्ञान र प्रविधिको विकास सँगसँगै मानिस व्यावहारिक रूपमै आफूलाई अनुकूल र सहज हुने ठाउँमा पुगेका कारण हात्ती आगमन सुचना प्रविधि केन्द्रले यसमा केही न्यूनिकरण गर्ने सभामुख घिमिरेले विश्वास व्यक्त गगरे।

मेचीनगर नगरपालिका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षतामा भएको हात्ती आगमन सुचना प्रविधि केन्द्र शुभारम्भ कार्यक्रममा संविधान सभा सदस्य रविन कोइरालाले यसले यसक्षेत्रमा हात्तीको पीडा खेपी रहेका स्थानीयवासीले केही भएपनि राहत महशुस गर्ने अपेक्षा गरे । उनले यो केन्द्र स्थापना भएपछि मानव हात्तीबीचको द्वन्द न्यूनिकरण हुनेमा विश्वास व्यक्त गरे े ।

मेचीनगर वडा नम्बर ४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले सञ्चालन गरेको कार्यक्रममा उज्यालो नेपाल बर्दिया र समाजका लागि युवाको सहकार्य धनगढीका सल्लाहकार रमेश थापाले प्रविधिका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा नगर उपप्रमुख मीना पाख्रेल उप्रेती, वागमती प्रदेशका पूर्व प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाई, विभिन्न राजनीति दल, सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रमुख प्रतिनिधिहरु, सुरक्षाकर्मी, सञ्चारकर्मीलगयात सर्वसाधारणको उपस्थिती रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु