प्रधानमन्त्री केपी शर्मा ओलीले गरे पदभार ग्रहण, आजै २२ सदस्यीय मन्त्रिपरिषद गठन

2024-07-15 मा प्रकाशित

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आजै राष्ट्रपति भवन, शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएका हुन् । शपथ ग्रहण पछि प्रधानमन्त्री ओलीले लैनचौरस्थित शहीद पार्कमा शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरे ।
च्यासलस्थित जननेता मदन भण्डारीको सालिकमा माल्यार्पण गरेपछि प्रधानमन्त्री ओलीले सिंहदरबारमा कार्यभार सम्हाल्न पुगेका थिए । प्रधानमन्त्री ओली कार्यालय प्रवेश गर्दा नेपाल सरकारका निमित्त मुख्यसचिव लीलादेवी गड्तौला, सचिवलगायत उच्चअधिकारीहरूले उहाँलाई स्वागत गरेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरे सँगै २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ खुवाएका छन् ।
मन्त्रीहरुको कार्यविभाजन यसप्रकार छ– १. केपी शर्मा ओली, प्रधानमन्त्री २. प्रकाशमान सिंह, उपप्रधान तथा सहरी विकास ३. विष्णु पौडेल, उपप्रधान तथा अर्थ ४. पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना मन्त्रालय ५. रमेश लेखक, गृह ६. शरतसिंह भण्डारी, श्रम तथा रोजगार ७. आरजु राणा देउवा, परराष्ट्र ८. नवलकिशोर साह सुडी, महिला बालबालिका ९. बलराम अधिकारी, भूमि व्यवस्था तथा सहकारी १०. दामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति ११. देवेन्द्र दाहाल, भौतिक पूर्वाधार तथा यातायात १२. तेजुलाल चौधरी, युवा तथा खेलकुद १३. प्रदीप यादव, खानेपानी १४. प्रदीप पौडेल, स्वास्थ्य १५. अजय चौरसिया, कानुन न्याय तथा संसदीय मामिला १६. बद्री प्रसाद पाण्डे, पर्यटन १७. रामनाथ अधिकारी, कृषि १८. विद्या भट्टराई, शिक्षा विज्ञान तथा प्रविधि १९. मानवीर राई, रक्षा २०. दीपक खड्का, जलस्रोत तथा ऊर्जा २१. राजकुमार गुप्ता, संघीय मामिला तथा सामान्य २२. ऐनबहादुर शाही ठकुरी, वन तथा वातावरण
मन्त्रिपरिषद्मा ९ नयाँ अनुहार
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले ९ नयाँ सांसदहरूलाई मन्त्री बनाएका छन् ।
प्रधानमन्त्री ओलीले नियुक्त गरेका २१ मध्ये ९ जना पहिलोपटक मन्त्री बनेका हुन् ।
कांग्रेसबाट मन्त्री बनेका आरजु राणा देउवा, प्रदीप पौडेल, बद्री पाण्डे, रामनाथ अधिकारी र ऐनबहादुर शाही पहिलो पटक मन्त्री बनेका हुन् ।
राणा परराष्ट्र, चौधरी युवा तथा खेलकुद, पौडेल स्वास्थ्य तथा जनसंख्या, पाण्डे पर्यटन, अधिकारी कृषि र शाही वन तथा वातावरण मन्त्री बनेका छन् ।
एमालेबाट देवेन्द्र दाहाल, विद्या भट्टराई, मानवीर राई र राजकुमार गुप्ता पहिलो पटक मन्त्री बनेका छन् ।
दाहाल भौतिक पूर्वाधार तथा यातायात, भट्टराई शिक्षा, राई रक्षा र गुप्ता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका छन् ।
प्रधानमन्त्री ओलीले नियुक्त गरेका अन्य मन्त्रीहरू भने अनुभवी छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु