सामुदायिक विद्यालयमा देखिएका समस्या समाधान विषयक बाहुनडाँगीमा अन्तरक्रिया

2024-07-20 मा प्रकाशित

बाहुनडाँगी । सामुदायिक विद्यालयहरुको खस्किँदो शैक्षिक अवस्थालाई सुधारगर्न सबै पक्षले हातेमालो गर्नुको विकल्प नभएको सोकारवालाहरुले चिन्ता ब्यक्त गरेका छन् । नागरिक समाज बाहुनडाँगीले आज मेचीनगर २ स्थित भानु माध्यमिक विद्यालयमा आयोजना गरेको सामुदायिक विद्यालयमा देखिएका समस्या समाधानका उपाय विषयक अन्तरक्रियाका वक्ताहरुले सो चिन्ता ब्यक्त गरेका हुन् ।
कार्यक्रममा सुझाव प्रस्तुत गर्दै दिपेन्द्र आविकी प्रधानाध्यापक शान्ता निरौलाले राम्रो गर्ने शिक्षकलाई प्रोत्साहन र पुरस्कृत गर्नुपर्ने बताइन् । उनले शिक्षक अब प्रअ हैन समाजप्रति जिम्मेवार भएर काम गर्नुपर्ने धारणा राखिन् । उनले प्रधानाध्यापकहरुले शिक्षा शाखा, सरकार वा दलका नेतृत्वसँग चाकडी गर्दैमा समय खेर फाल्नु परेको तितो यथार्थ प्रअहरुले बोकेर हिँड्नु परिरहेको बताइन् ।
निरौलाले अनुगमनका लागि स्थानीयस्तर बाटै व्यवस्थापन गरी नागरिक समाजले नियमन, अनुगमन गर्नु पर्ने धारणा राखिन् । व्यवस्थापन समिति र शिक्षक बीचमा कहिल्यै बैठक, छलफल नहुनाले खाडल सिर्जना भइ रहेको बताइन् ।
कृष्ण आधारित विद्यालयका प्रअ राजन सुवेदीले सामुदायिक विद्यालयमा कैयन समस्या रहेको बताउँदै तलब भत्ता बाहेक संचालन, व्यवस्थापनका रकमको चरम अभाव हुने गरेको बताए । उनले बिजुली, खानेपानी, साँकृतिक कार्यक्रम, खेलकुदलगायतका गतिविधि गर्न चरम आर्थिक अभाव भएको बताए । उनले कुनै कुनै विद्यालयले बिलासिताका लागि बस किनिरहेका तर, दुर्गमका विद्यालयमा बस्ने डेस्क बेन्चको अभाव सहनु परेको बताए ।
मेची जनासाधारण माविका प्रअ चन्द्रशेखर गुरागाईँले विद्यार्थीहरु आर्थिक अवस्था कमजोर भएमा मात्र सामुदायिक स्कुल पढ्नुपर्छ भन्ने मानसिकता हावी भएको बताए । उनले नतिजा सुधार गर्न तल्ला कक्षाहरु बाटै ध्यान दिनुपर्नेमा जोड दिए ।
मेचीनगर–१, का सुर्य राईले सरकारी स्कुल छोडेर विद्यार्थी किन बोर्डिङ गइरहेका छन् । यस्को जवाफ खोज्ने हो भने समस्याको समाधान पाईने बताए ।
वडा नं ४ का अध्यक्ष अर्जुनकुमार कार्कीले कमजोर नतिजाप्रति सबैभन्दा बढी जिम्मेवार शिक्षकनै भएको टिप्प्णी गरे । उनले आफ्ना कमजोरी सुधार गरेर अघि बढ्न आग्रह गरे । उनले शैक्षिक सुधार गर्न ४ वटै वडाले सहयोग गर्ने र साउन भित्रमै योजना बनाएर अघि बढ्न सुझाव राखे । कार्कीले विद्यालयमा गुणस्तर कायम गर्न पैसाको अभाव हुन नदिने प्रतिवद्धता जनाए ।
शिक्षक पुष्कर ढकालले धुलाबारी माविले गाडी किनेर बाहुण्डाँगीका विद्यार्थी असार्ने हो भने विद्यालयको क्याचमेन एरिया हटाउनु पर्ने बताए । उनले शिक्षक राजनीतिबाट अलग रहनुपर्ने धारणा राखे ।
शिक्षक विष्णु अधिकारीले विद्यालयमा राजनीति हावी भएकाले विद्यालय खस्कदै गएको बताए । शिक्षक कक्षा कोठामा ढिलो गएर छिटो आउने, गुट कायम गर्ने, विद्यार्थीले बुझेर, नबुझेर आफ्नो काम सकियो भन्ने प्रवृत्ति बढेको बताए । उनले वर्ष भरिमा नियमन र सुपरिवेक्षणको जिम्मा पाएको शिक्षा शाखा एकपटक पनि आफ्नो विद्यालयको अनुगमनमा नपुगेको बताए ।
टेकचन्द्र फुयाँलले शिक्षक कर्मचारीका छोराछोरीहरु सरकारी विद्यालयमै अनिवार्य पढाउनु पर्ने नीति राज्यले ल्याउनु पर्ने बताए । पूर्व शिक्षक हरी न्यौपानेले विद्यालय व्यवस्थापन समिति पदाधिकारीसमेत कक्षामा प्रवेश गरी अनुगमन गर्न पाउनु पर्ने, पर परका विद्यार्थी ओसार्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताए ।
पूर्व प्रअ सोम आचार्यले बहसको क्रममा समस्या मात्र थुप्रिएको बताउँदै समाधानका उपायहरुको खोजी गर्नुपर्ने बताए ।
बिशालकृष्ण बास्तोलाले अनुगमन र नियमनलाई प्रभावकारी नबनाइन्जेल शिक्षा सुधार हुन नसक्ने बताए । बास्तोलाले शिक्षाका कर्मचारी एसि कोठाबाट निस्किएर तातोघाममा कक्षा कोठासम्म जानै डराएको आरोप लगाए ।
प्रअ खड्गकुमारी तिम्सिनाले विद्यालयका चुहिने छानाका बीच पठनपाठन गर्नुपर्ने बाध्यता रहेकाले स्थानीय निकायको सहयोग आवश्यक रहेको बताईन् । उनले समग्र बाहुण्डाँगीको शैक्षिक अवस्था सुधार गर्न तल्ल्लो कक्षाबाटै ध्यान दिनुपर्ने बताए ।
वडाध्यक्ष दिपक बरालले यहाँका विद्यालयमा कक्षा ११ र १२ को कक्षा संचालन गराउन विकास निर्माण कटाएर भएपनि विद्यालयलाई सहयोग गर्ने बताए । बरालले भने,‘बरु कलवर्ट र बाटा नबनाउला तर, कक्षा ११÷१२ पढाउन वडाको तर्फबाट सहयोग गर्ने रहन्छ ।’
नागरिक समाज बाहुण्डाँगीका अध्यक्ष निलकण्ठ तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत समाजका चन्द्र ढकाल, संचालन पोषककुमार दर्जी र ज्ञानेन्द्र ढुंगानाले गरेका थिए ।
सोअवसरमा भानु माविका सहायक प्रअ ज्ञानेन्द्र ढुङ्गाना र सामाजिक अभियन्ता गोविन्द न्यौपानेले कार्यपत्र प्रस्तुत गर्दै सामुदायिक स्कुलका समस्या र तिनका समाधानका उपायहरु सुझाएका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु