खरेलको स्मृति ग्रन्थ लोर्कापण

2024-07-23 मा प्रकाशित

धुलाबारी, ८ साउन । सुसेली साहित्यिक परिवारको आयोजनामा काँकरभिट्टामा स्व. विजय खरेलको स्मृति ग्रन्थको मंगलबार लोर्कापण गरिएको छ ।
काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सभाहलमा आयोजित कार्यक्रममा भाषाविद् प्राध्यापक डा. जिवेन्द्रदेव गिरीले पाँच सय पृष्ठको ११३ जना सर्जकद्वारा लिखित ग्रन्थको लोर्कापण गरे ।
सुसेलीका अध्यक्ष पुण्यप्रसाद खरेलको अध्यक्षतामा भएको कार्यक्रममा खरेलको स्मृति ग्रन्थको चर्चा उनका सहोदर भाई डा. दशरथ खरेल र साहित्यकार भुवन सुब्बा खरेलले गरेका थिए । पुस्तकको चर्चा गर्दा भावुक बनेका खरेलको गला अवरुद्ध हुँदा हलमा सहभागि सबैका आँखा रसाएका थिए ।
दुबैजनाले पुस्तकलाई चार खण्डमा विभाजन गरेर प्रकाशन गरिएको बताए । कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, पत्रकार चन्द्र भण्डारी, कृष्णराज घतानी भूमिका राईलगायतले खरेलले साहित्यको माध्यमबाट समाज रुपान्तरणमा पुर्याएको योगदानको चर्चा गरे ।


कार्यक्रममा सुसेली प्रतिभा पुरस्कारबाट केसाङ लामा पुरस्कृत भएका छन् । उनलाई साहित्य र कला क्षेत्रमा पुर्याएको योगदान स्वरुप पुरस्कृत गरिएको संस्थाका अध्यक्ष पुण्यप्रसाद खरेलले बताए ।

कार्यक्रममा स्व विजयकी छोरी जयन्ती खरेलले बुबाका नाममा अक्षयकोष स्थापनाका लागि संस्थाका अध्यक्ष खरेललाई रु. एक लाख राशीको चेक हस्तान्तरण गरिन् । उनले स्व. बुबाको नाममा प्रतिष्ठान गठन गर्ने समेत उद्घोष गरिन् । सुभ्रदा भट्टराईले स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव कनक कार्कीले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु