ओमनको अस्पतालमा आमा अलपत्र परेपछि छोराले छोरा सञ्जय गरे आमालाई नेपाल ल्याउन आर्थिक सहयोगको अपिल

2024-08-16 मा प्रकाशित

धुलाबारी । दुई छोरा र एक छोरीको भविष्य बनाउने सपना बोकेर ६ वर्षअघि कमाउन ओमन गएकी मेचीनगरकी बिनादेवी कवर अहिले उतैको सरकारी अस्पतालमा अचेत अवस्थामा छिन् ।

मेचीनगर–१० स्थित कवर वस्तीका चिनीलाल कवरकी श्रीमती ४५ वर्षीया बिनादेवी कवर २०७५ सालमा वैदेशिक रोजगारीका लागि ओमन मुलुक गएकी थिइन् ।

ओमन जानुअघि १४ महिना रोजगारका लागि कुवेत गएर घर आएकी थिइन् । त्यसपछि उनी ओमन गएकी हुन् ।

झापाकै गोरे नाम गरेका एक व्यक्तिले कुनै एक कम्पनी मार्फत हाउसमेडका लागि २०७५ सालमा भारत हुँदै ओमन देश पठाएको उनका जेठा छोरा सञ्जय कवरले आज पत्रकार सम्मेलनमा जानकारी गराएका हुन् ।

ईटाभट्टा स्थित प्रेस क्लव मेचीनगरको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले आमाले पैसा अलिअलि भएपनि पठाउँदै हुनु हुन्थ्यो, २०७९ माघ २३ गते अचानक विरामी भएको खवर पाएको बताए ।

‘आमालाई पेसर र सुगर भएर प्यारालाइसीस भएछ’ सञ्जयले भने–‘ढेड वर्षदेखि त्यहाँको एक अस्पतालमा कोमामा रहेको मात्र थाहा भयो । आमालाई घर ल्याउन करिव १३ लाख खर्च लाग्छ भन्ने सुने । आर्थिक अवस्था कमजोर छ । यत्रो पैसा कहाँबाट ल्याउनु । त्यसैले आमालाई विदेशबाट ल्याउन सबैसँग अनुरोध छ ।’

धुलाबारीका स्थानीय समाजसेवी युवा धमेन्द्र खडकाले ओमनको नेपाली दुताबासका कन्सुलर गोविन्दप्रसाद आचार्यसँग भिडियो कलमा सम्पर्क राख्दा उनले मस्कट शहरदेखि एक हजार १४ किलोमिटर टाडा रहेको सरकारी सुल्तान कावुस्स सलाह अस्पतालमा बिनादेवी कवरको उपचार भइरहेको जानकारी दिएका थिए ।

कन्सुलर आचार्यले उहाँलाई गरिने सबै उपचार गरिसकेको बताए । उनका अनुसार अचेत अवस्थामा हुनु हुन्छ । चेतना छ, बोली आउँदैन । मान्छे हेर्दा अलिअलि चिन्नु हुन्छ ।

उहाँलाई नेपाल ल्याउन मेडिकल सर्पोटको टिमसहित दुईवटा जहाजमा परिवर्तन गर्नुपर्छ । करिव १३ लाख बढी नेपाली रुपैयाँ खर्च हुन्छ ।

पत्रकार सम्मेलनमा मेचीनगर नगरपालिका कार्यालयमा रहेको सामी संस्थाकी कर्मचारी गीता खरेलले पूर्व स्वास्थ्य मन्त्री गिरिराज पोखरेलसँग कुरा गर्दा नेपाल सरकारको खर्चमा ल्याउन सम्बन्धीत मन्त्रालयलाई जानकारी गराएको बताइन् ।

पत्रकार सम्मेलनमा विरामी बिनाकी दिदी बुल्ली कवर, जेठा छोरा सञ्जय, सामीकी कर्मचारी गीता खरेल, समाजसेवी धमेन्द्र खड्का लगायत थिए ।

विरामी बिनाका श्रीमान चिनीलाल धुलाबारीमा नै सामान्य ज्यालादारीमा काम गर्छन् । जेठा छोरा सञ्जय मेचीनगर–७ स्थित राज टिस्टेटमा मजदुरी गर्छन्, कान्छो छोरा सुरज काठमाडौँमा मूर्ति बनाउने काम गर्छन् भने छोरी अनिता कवरको विवाह भइसकेको छ ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु