ओमनमा विरामी परेकी विनादेवीको परिवारलाई सांसद शर्माले भेटे

2024-08-16 मा प्रकाशित

मेचीनगर, ३२  साउन । आमनमा विरामी भई लामो समय सम्म अस्पतालमा भर्ना भएकी मेचीनगरकी विनादेवी कवँरको परिवारलाई प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले भेट गरेका छन् । मेचीनगर ७ स्थीत राज टि स्टेटमा मेशिन अपरेटरको रुपमा काम गर्ने र उद्योगले उपलब्ध गराएको घरमा परिवारसहित बस्दै आएका विनादेवीका छोरा सञ्जय कवँर र छोरी अनिता कवँर लगायतका परिवारका सदस्यलाई भेटगरी विनादेवीलाई कसरी नेपाल ल्याउन सकिन्छ भन्ने विषयमा प्रयास भइरहेको बताए ।

कवँर परिवारलाई भेट गर्न आज दिउँसो राज टि स्टेट पुग्नु भएका नेपाली काँग्रेसका महामन्त्री तथा सांसद शर्माले परिवारका सदस्यहरुसंगै रहेका बेला ओमनस्थीत नेपाली राजदुत डोरनाथ अर्यालसंग फोनमार्फत कुराकानी गरी विनादेवीको अहिलेको अवस्थाका बारेमा जानकारी लिनु भएको थियो । सांसद शर्मासंग कुरा गर्दै राजदुत अर्यालले विनादेवी अर्धचेत अवस्थामा रहेको र ओमनको सलाला भन्ने ठाउँको सुल्तान कबुस अस्पतालमा उपचारकै अवस्था रहेको बताउनु भयो । वहाँका अनुसार विनादेवीको अवस्था गम्भिर रहेको छ ।

छोरा सञ्जय र छोरी अनिताले समेत सुनेका राजदुत अर्याल र सांसद शर्माबीचको टेलिफोन कुराकानीका क्रममा राजदुत अर्यालले विनादेवीको परिवारका एक जना सदस्यलाई ओमन नै पठाउने व्यवस्था गरिदिन सांसद शर्मालाई आग्रह गर्नु भएको थियो ।

सञ्जय कवँरसंगै बसेर ओमनका राजदुत डोरनाथ अर्यालसंग टेलिफोनमा कुरा गर्दै सांसद शर्मा ।
‘एक पटक वहाँको परिवारलाई ओमन पठाउने व्यवस्था गरिदिनुहोस,’ राजदुत अर्यालले सांसद शर्मालाई भन्नुभयो, ‘विनादेवीको अवस्थाका बारेमा वहाँहरुले आफैं देख्नु हुनेछ, अनि वहाँहरुलाई के गर्ने भन्ने निर्णय गर्न पनि सजिलो हुन्छ ।’ राजदुत अर्यालले विनादेवीको परिवारका एक जना सदस्यलाई ओमन बस्ने व्यवस्थाका लागि दुतावासले समन्वय गर्ने पनि शर्मासंगको टेलिफोन वार्तामा बताउनु भयो ।

विनादेवीलाई नेपाल फर्काउने प्रक्रिया भन्दा पहिला ओमन पुगेरै परिवारका सदस्यले एक पटक स्वास्थ्य अवस्थाका बारेमा बुझ्नु राम्रो हुने भएकाले तत्कालै ओमन जान छोरा सञ्जयलाई सांसद शर्माले आग्रह गर्नु भएको छ । ‘आमाको स्वास्थ्य अवस्थाका बारेमा आफैै हेरेर आउनुहोस,’ सांसद शर्माले छोरा सञ्जयलाई भन्नुभयो, ‘ओमन जाने आउने र त्याहाँ बस्ने व्यवस्थाका लागि हामी सहयोग गर्छौं ।’ ओमन जाने की अहिलेकै अवस्थामा आमालाई नेपाल ल्याउने भन्ने बिषयमा परिवारबीच सल्लाहा गरेर खबर गर्ने सञ्जयले सांसद शर्मालाई बताउनु भयो ।

झापा मेचीनगर १० स्थीत कवँर बस्तीकी ४५ बर्षीया विनादेवी ६ बर्ष अघि बैदेशिक रोजगारीका लागि अबैधानिक बाटो हुँदै ओमन पुग्नु भएको थियो । प्यारालाइसिस भएर ढल्नु भएकी विनादेवी पछिल्लो एक बर्षदेखि ओमनको सलालास्थीत अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु