छैटौं राष्ट्रिय एमेच्युर बुद्वीचाल प्रतियोगिता सम्पन्न, पुरूषोतम र रन्जित प्रथम

2024-08-27 मा प्रकाशित

मेचीनगर । छैटौं राष्ट्रिय एमेच्युर बुद्वीचाल प्रतियोगितामा पुरूषोतम चौलागाई र रन्जित राई प्रथम भएका छन् ।

आज काँकरभिट्टामा सम्पन्न प्रतियोगितामा काठमाडौंका चौलागाई र उदयपुरका राई प्रथम हुँदै जनही नगद ५० हजार प्राप्त गरे । त्यस्तै उनीहरुले अब डिसेम्बर १३ देखि २२ सम्म दुवइमा हुने एशियन एमेच्युर चेस टुनामेन्टमा नेपालको प्रतिनिधित्व गर्ने छन् ।


नाइट चेस क्लबको आयोजना तथा नेपाल राष्ट्रिय बुद्वीचाल महासंघको प्राविधिक सहयोगमा काँकरभिट्टा खानेपानी सभाहलमा भदौ ७ गतेदेखि १० गतेसम्म भएको उक्त प्रतियोगितामा दुई हजार मुनिका रेटिङ प्रतिस्पर्धामा चौलागाई ६ अंक ल्याएर प्रथम भएका छन् ।

उक्त प्रतियोगितामा समान साढे पाँच अंक ल्याएर दोस्रो र तेस्रो हुने धरानका राजेन्द्र राई र खोटाङका धिरेन राई, समान पाँच अंक ल्याएर चौथो र पाँचौँ हुने दोलखाका आशिस फुयाल र हेटौडाका कृष्ण थापा, छैठौं, सातौ, आठौँ, नवौँ र दशौँ समान चार अंक ल्याउने क्रमशः फ्रेन्डसीप चेस क्लबका निलम वस्नेत, मेचीनगर(६ का विकास मैनाली, इटहरी प्रेम लिम्बू, ललितपुरका सुरज महर्जन र मेचीनगर(६ का बलिमान गुरूङ छन् ।

यता १७ सय मुनिका रेटिङ प्रतिस्पर्धामा ९ अंक ल्याएर राई प्रथम भएका हुन् । उक्त प्रतियोगितामा समान सात अंक ल्याएर दोस्रो र तेस्रो हुने काठमाडौंका रामहरि कार्की र गोरखाका कपिल गुरूङ, समान साढे ६ अंक ल्याएर चौथो, पाँचौँ, छैठौँ र सातौँ हुने क्रमशः पोखराका पूजा भण्डारी, तिलोतमाका शिवकुमार विक, धरानका रोशन खड्गी र दमौलीका कृष्णप्रसाद सिग्देल, समान छ अंक ल्याएका काठमाडौंका सुरज सिंह, खोटाङका खीलाराज राई र स्याङ्जाका राजन पहाडी छन ।

प्रतियोगितामा विजेताले समान नगद ५० हजार प्राप्त गर्दा क्रमश दोस्रो र तेस्रो हुने दुवै विधाका खेलाडीले नगद २५ हजार र १५ हजार प्राप्त गरे ।

त्यस्तै प्रतियोगिता चौथो, पाँचौ, छैटौं र सातौं हुने खेलाडीले क्रमश नगद १२ हजार, १० हजार, ८ हजार र ६ हजार प्राप्त गरे भने आठौं, नवौं र दसौं हुने खेलाडीलाई जनही ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।

त्यस्तै राईजीङ खेलाडीमा पुनम प्रसाई र इमेजीङ खेलाडीमा मन्जिल वस्नेत घोषित भएका थिए । पुरस्कार छनोट भएका २ जना र अन्य विजेताहरुलाई कोशी प्रदेशका सांसद गोपाल तामाङ, नाइट चेस क्लबका अध्यक्ष विश्वविजय घिमिरे, नेपाल राष्ट्रिय बुद्वीचाल महासंघका अध्यक्ष हिराकाजी महर्जन लगायतले पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा क्लबले प्रतियोगितालाई भव्य र सफल पार्न सहयोग गर्ने पत्रकार मुक्ति पौडेल र युवराज आचार्यलाई सम्मान गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि सांसद तामाङ, कोशीका पूर्व सांसद श्रीप्रसाद मैनाली, बुद्वीचाल महासंघका अध्यक्ष महर्जन लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतियोगिताको मुख्य प्रायोजकमा स्थानीय पशुपति इङ्लिश बोडिङ स्कुल रहेको थियो भने संरक्षकमा मेचीनगर नगरपालिका र विभिन्न सामाजिक संघसंस्थाले सहयोग गरेको थियो ।

नाइट चेस क्लबका अध्यक्ष विश्वविजय घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत प्रथम उपाध्यक्ष राजु पौडेल र सञ्चालन महासचिव राजेश राउतले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु