पर्यटन कार्यालय काँकरभिट्टाको आयोजनामा दुई दिवसीय विविध कार्यक्रम

2024-09-26 मा प्रकाशित

काँकरभिट्टा । विश्व पर्यटन दिवस २०२४ को अवसर पारेर पर्यटन कार्यालय काँकरभिट्टाको आयोजनामा दुई दिवसीय विविध कार्यक्रम सुरु भएको छ ।
पहिलो दिन बिहीबार आयोजित कार्यक्रममा जैविक विविधता पर्या पर्यटन सम्बन्धी फोटो तथा चित्रकला प्रदर्शनीका साथै मेचीनगर स्तरीय अन्तरमावि चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।
कार्यालयले भोलि शुक्रबार  बिहान ८ बजे प्रभावत फेरीका साथै अन्य बिभिन्न कार्यक्रमको तयारी गरेको छ ।
पर्यटन कार्यालय काँकरभिट्टाका कार्यालय प्रमुख छविलाल खतिवडाको सभापतित्व तथा जिल्ला समन्वय समिति झापाका अध्यक्ष विश्वनाथ बरालको प्रमुख आतिथ्य रहेको कार्यक्रममा प्रमुख अतिथि बरालले पर्यापर्यटनको विकासले देशले समृद्धि हासिल गर्ने बताए । उनले धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास गरेर बाह्यि पर्यटकहरुलाई आकर्शित गर्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा मेचीनगर – ४ का वडाध्यक्ष अर्जुन कुमार कार्की, भद्रपुर विमानस्थलका प्रमुख किशोर कुमार खत्री, सशस्त्र प्रहरी वल काँकरभिट्टाका डीएसपी लोकनाथ उप्रेती, लगायतले बोलेका थिए ।


सो अवसरमा मेची चरा तथा बन्य जन्तु संरक्षण समाजका अध्यक्ष देवेन्द्र खरेलले कार्यक्रमको औचित्य प्रकाश पार्दै आन्तरिक तथा बाह्यि पर्यटकहरुलाई आकर्शित गर्न चरा तथा बन्यजन्तुको संरक्षण आवश्यक रहेको बताए । उनले विश्वमा दुर्लभ मानिएका बिभिन्न प्रजातिका चरा तथा स्तनधारी जनावर नेपालमा भेटिन थालेको बताउँदै नेपालमा पर्या पर्यटनको प्रचुर सम्भावना रहेको बताए ।
खरेलले हालै इलामको सन्दकपुर –२ मा नेपालमा दुर्लव मानिएको फोरेष्ट ठुटे खरायो –पाइका) भेटिएको दावी गरे । उनले भने, “हामी इलामको सन्दकपुर जाँदा सन्दकपुरको आहाल क्षेत्रमा फोरेष्ट ठुटेखरायो फेला पर्याे । नेपालमा हाल ७ वटा प्रजातिका (पाइका) थिए । अव यो संख्या १ थपिएर ८ वटा हुने छ ।”
कोशी प्रदेशमा पाईने बिभिन्न प्रजातिका चरा, रेडपाण्डा, हरियो विराले सर्प कछुवा, ठकठके, लगायतका ३९ वटा फोटो प्रदर्शनीमा राखिएको छ । खरेलले मेचीनगरमा मात्रै ३४२ प्रजातिका चरा रहेको दावी गर्दै जैविक विविधताका हिसावले मेचीनगर तथा कोशी प्रदेश अन्य प्रदेश भन्दा धनी रहेको दावी गरे ।
कार्यक्रमको दोस्रो चरणमा मेचीनगर स्तरीय अन्तरमावि चित्रकला प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा नगर क्षेत्रका ४२ वटा सामुदायिक र निजी विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगितामा उत्कृष्ट विद्यालय तथा विद्यार्थीहरुलाई समापन कार्यक्रममा पुरस्कृत गरिने कार्यालयका सूचना अधिकारी निरज कट्टेलले जानकारी दिए । कार्यक्रमको सञ्चालन सूचना अधिकारी कट्टेलले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु