डम्बर बराल
मेचीनगर । दशैंको चटारो सुरु भएसँगै गाउँका युवादेखि बालबालिका प्राय सबैको मुहारमा खुसी देखिन्थ्यो, दशैंको बजार भर्न जानेहरुको दैनिक लर्काे लाग्दै थियो । नयाँ कपडा किन्नेदेखि दशैंमा खाने अन्नको जोहो गाउँमा सबैले गरिसकेका थिए तर मेचीनगर – ५ शान्ति टोलका ७५ वर्षीय विन्द बहादुर राई (बिजुवा बा)लाई भने दशैंले छोएको थिएन । हुन त उनलाई दशैंले नछोएको ५,७ वर्षै बित्यो । परिवारका सबै सदस्हरुलाई एक एक गर्दै दैवले लगेर आफू साहारा बिहिन बन्नुपरेपछि उनको सबै खुसी खोसिएको छ । विगतका दशैंलाई सम्झीएर पिँढीमा बसेर टोलाइरहेका राई त्यसबेला खुसी भए जव उनको घरमा “इनरवील क्लव” पुग्यो ।
इनरवील क्लव अफ मेचीनगर, मेचीनगरका सक्रिय महिलाहरुको समूह हो । विपन्नहरुको निम्ति साहारा बन्दै आएको यो समूहले एक बोरा चामल, तेल चिनी, नुन, चिउरा मरमसला लगायतका सामाग्री लिएर राईको घरमा पुगेको थियो । क्लवकी अध्यक्ष दुर्गा देवकोटा सहित पुगेको टोलीले राईलाई सो सामान हस्तान्तरण गरेको थियो । अध्यक्ष देवकोटाले आर्थिक अभावका साथै साहाराविहीन बन्नु भएको बृद्ध बुवालाई सहयोग गर्न पाएकोमा खुसी ब्यक्तगरिन् । “उहाँको परिवारमा कोही रहेन छ,” उनले भनिन्, “हामी तपाईका छोराछोरी जस्तै हौं अव राम्रोसँग दशैं मनाउनु होला, दशैको शुभकामना ।” बरण्डामा एक्लै टोलाएर बसेका राईले सामाग्री प्राप्त गरेपछि पीडा सहितको खुसी ब्यक्तगरे ।
हुन त राईको घरमा चुलो नबलेको महिनौं भइसकेको थियो । घरमा खानको लागि एक मुट्ठी अन्न समेत नभएपछि आगोबल्ने कुरै भएन । २० वर्ष अघि श्रीमतीले यो संसार छाडेर गएपछि उनलाई दैवलेपनि क्रमश एक्लो बनाउँदै गयो । त्यसपछि क्रमश छोरा, बुहारी र नातिले उनलाई छोडेर यो संसारबाट विदा भए । परिवारका सबै सदस्यले छोडेपछि साहारा बिहिन बनेका उनी डोको बुनेर बेच्दै आफ्नो जीवन निर्वाह गर्दै आएका थिए ।
पछिल्ला केही वर्षदेखि डोको बुन्ने चोया समेत काट्न कठिन हुन थलेपछि उनको जीवन जिउने आधार कमजोर बन्दैगएको छ । परिवारका सबै सदस्यले छोडेर गएपछि एक्लो भएको छु, राइले भने, “छोरा छोरी र नाति नातिनाको साहारा चाहिने उमेरमा एक्लो भइयो । नत बस्ने राम्रो ओत छ, नत जीवन जिउने आधार ।” उनका ४ जना छोरा, ३ जना छोरी अनि नाति नातिना थिए । तर आज उनी एक्लो छन् ।
विजुवाको नामले परिचित उनी जीवनको लामो समय गाउँ घरमा कसैलाई बिरामले च्याप्दा झारफुक गर्न पुग्थे, उनका घरमा प्राय टाडाटाडाबाट मानिसहरु झारफुक गर्न आउने गर्थे । शनिवार र मंगलबार त निक्कै भिडभाड हुन्थ्यो । तर उमेरले डाँडो काटेपछि र परिवारले छोडेर गए पछि एक्लो बनेका उनको घर यतिखेर भने प्राय सुनसान हुन्छ ।
“पहिला हरेक दिन मेरो घरमा मानिसहरुको भीड हुन्थ्यो । अहिले कोही आउँदैनन् ।” विगतलाई सम्झदै उनले भने, “साथीभाइ र आफन्तले सम्झने पनि उमेर हुँदा मात्र रहेछ, अवत साहारा भनेकै यही लौरो मात्र हो । आज तपाईहरु आइदिनु भयो मेरो आफ्रनै छोरा छोरी र नाति नातिना आएजस्तो लाग्यो ।” गहँभरी आँसुपार्दै उनले भने ।” २०३२ सालदेखि सोक्षेत्रमा बसोबास गर्दै आएका राईले सो क्षेत्रको पहिचननै बदलेका थिए । सो टोललाई धेरै जसोले अहिलेपनि विजुवा डाँडो भनेर चिन्ने गरेका छन् । धार्मिक र सामाजिक क्षेत्रमा सम्पूर्ण जीवन खर्चिएका उनको आफ्नो निजी जमिन नहुँदा ब्यवस्थित घर निर्माण समेत हुन सकेन । आफन्तले बस्नकोलागि थोरै जमिन उपलब्ध गाएपछि सोही क्षेत्रमा कटेरो निर्माण गरेर परिवार पाल्दै आएका थिए । उनको अनुहारको छाला चाउरी परिसकेको छ । चाउरी परेका अनुहार मोसार्दै अनि आँखाको आँसु् पुछ्दै राइले भने,“ नानीहरु फेरी फेरी आउँदै गर्नु होला ।”
इनरवील समुह विगत १ वर्षदेखि दिन दुःखीहरुकोनिम्ती साहारा बन्दै आएको छ । समुहकी अध्यक्ष दुर्गा देवकोटाले भनिन्, “हाम्रो उद्देश्य दीन दुःखीहरुको सेवा नै हो ।” अफ्ठेरोमा परेका हरेक ब्याक्तिहरुकोलागि हामी साहारा बन्ने छौं ।” समुहले यस अधि बिभिन्न समयमा सामाजिक काम गर्दै आएको उनले बताइन् ।
हस्तान्तरण अभियानमा क्लवकी अध्यक्ष दुर्गा आचार्य, सचिव सरिता राजवंशी, सदस्य निर्मला सुवेदी, निशा खड्का, अनिशा कार्की, चन्द्र कला विक, सपना परियार, सलाकार योगेन्द्र थापा लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस्