स्थानीय तहमा कानून निर्माण प्रक्रिया र कार्यान्वयनको अवस्था बिषयक अन्तरक्रिया सम्पन्न

2024-10-26 मा प्रकाशित

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा स्थानीय तहमा कानून निर्माण प्रक्रिया र कार्यान्वयनको अवस्था बिषयक अन्तरक्रिया एवम् छलफल कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार सम्पन्न कार्यक्रममा कोशी प्रदेशका सभामुख अमरबहादुर बिष्ट र उपसभामुख सृजना दनुवारसमेतको उपस्थितिमा आयोजना भएको कार्यक्रमको अध्यक्षता मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेको थिए ।

नेपालमा संघियता लागू भएपछि स्थानीय, प्रदेश र संघियगरी तीन तहका सरकार रहने व्यवस्था छ । यी तीनै तहका सरकार सञ्चालन गर्न आ(आफ्ना छुट्टाछुट्टै क्षेत्राधिकारमा रहेर आवश्यक कानुन कार्यन्वयन गर्ने क्रममा रहेको छ । यसलाई थप व्यवस्थित र सहज कार्यन्वयन गर्न कोशी प्रदेश सरकारले विभिन्न पालिकामा कानून निर्माण प्रक्रिया र कार्यान्वयनको अवस्था बिषयक अन्तरक्रिया एवम् छलफल कार्यक्रम अगाडि सारेको छ । सोही क्रममा शुक्रबार उक्त कार्यक्रम मेचीनगरमा सञ्चालन गरिएको आयोजक कोशी प्रदेश सभा सचिवालय विराटनगरले जनाएको छ ।

कार्यक्रममा नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोख्रेल उप्रेतीले पालिकाको आफ्नो क्षेत्राधिकार भित्र पर्ने बिषयबस्तु पनि संघ र प्रदेशबाट स्पष्ट रूपमा कानूनी व्यवस्था नहुँदा वा पालिकाको अधिकार हस्तक्षेप गर्दा समस्या हुने गरेको बताए । बिशेषगरि नगरपालिकाको आन्तरिक आयस्रोतको रूपमा रहेको नदिजन्य पदार्थ उत्खनन तथा त्यसको व्यवस्थापनमा समस्या सृर्जना भएको बताए ।

यसले उपभोक्ता मारमा पर्नुका साथै नगरको करोडौं रकम पनि खेर गइरहेको अवस्था रहेको उनीहरूको भनाइ छ ।

मेचीनगरका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले नगरपालिकामा हालसम्म ऐन २७, नियमावली ५, कार्यविधि ३२, निर्देशिका ६, र मापदण्ड ६ गरि जम्मा ७६ वटा कानून निर्माण गरिसकेको बताए । यसलाई नगरले कार्यन्वयन गरिएको छ ।

कार्यक्रममा कोशी प्रदेश सभा सदस्य गोपाल तामाङ, प्रदेशका कर्मचारी, मेचीनगरका विभिन्न वडाका वडाध्यक्ष, नगरपालिकाका शाखा प्रमुख, वडा सचिवलगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु