काँकरभिट्टा, २३ कात्तिक । नेपालको राजनीति प्रति युवाको घट्दो आकर्षण, मौलाउँदो भ्रष्टचार र बढ्दो बेरोजगारीले यतिखेर नेपाल दक्ष युवाजनशक्ति विहिन बन्ने खतरा बढ्दै गएको छ ।
एस ईई परीक्षा पछि मुस्किलले कक्षा ११, १२ सिध्याउँछन् विद्यार्थीहरु । अनि सुरु हुन्छ जिल्ला प्रशासनमा ठूलै भीड, प्राय सबै नागरिकता र पासपोर्टको लाइनमा हुन्छन्, त्यसपछि को गन्तब्य, अष्ट्रेलिया, जापान, क्यानडा, कोरिया लगायतका विभिन्न देश ।
जतिले ब्याचलरमा एड्विशन गर्छन् परीक्षासम्म आइपुग्दा २५ प्रतिशत मात्र हुन्छन् । त्यसबेला सम्म २५ प्रतिशतले घरजम गर्लान बाँकी ५० प्रतिशत जनशक्ति पासपोर्ट लिएर सम्भावनाको खोजीमा विदेशीन्छन् । यो क्रम हरेक वर्ष बढ्दो छ । खाडी मुलुक जानेहरुको लर्काे देख्दा देश पुरै खाली भएछ भान हुन्छ ।
देशमा दक्ष जनशक्ति रिक्तिँदै गएको छ । यहाँ बस्ने उत्साह कमैलाई छ । हरेक ब्याक्तिमा निराशा छाएको छ ।
यस्तै निराशालाई चिर्न तथा सम्बोधन गर्न नेपाली कांग्रेस निकट युवा नेताहरूले शुक्रबारदेखि (युवा संकल्प यात्रा) सुरू गरेका छन् ।
मेचीनगरदेखि महेन्द्रनगर सम्मको संकल्प यात्रा शुक्रबार दिउँसो काँकरभिट्टा स्थित हनुमान मन्दिर परिसरबाट सुरु भयो । संकल्प यात्राको औपचारिक उद्घाटन् कार्यक्रममा युवा संकल्प यात्राका संयोजक एवम् नेपाल तरूण दलका पूर्व महामन्त्री भुपेन्द्रजंग शाहीले देशको जल्दो वल्दो १० बुँदे समस्यालाई मुद्दाको रूपमा उठाएर एक महिने अभियान लिएर हिडेको बताए ।
“देश भ्रष्टचारले आक्रान्त छ, भ्रष्टचार मौलाएको छ, घुस नदिए काहीँ काम बन्दैन, ”उनले भने, “जन्मदर्तादेखि मृत्युदर्ता बनाउँदा सम्म घुस दिनु पर्ने अवस्था छ, अरु ठाउँको त कुरै छोडौं । देशमा काण्डै काण्ड मचिएका छन् । गरिव निमुखाले राखेको पैसा पनि छोडेनन् । अनि यो देशमा बस्ने मन कस्लाई हुन्छ ? यो देशमा दलाल र भ्रष्टहरुको विगविगी बढ्यो, हामी सचेत युवाहरुले त्यसलाई रोक्नु पर्छ ।”
उनले देशमा केही हुँदैन भने निराश बनेका युवा, तथा बिभिन्न खाडी मुलुक र उच्च शिक्षाकोलागि विदेशीँदै गएका युवा तथा सहकारीबाट ठगिएका र जोस जाँगर भएर पनि देशको अवस्था देखेर निराश बनेका बेरोजगार युवाहरुको विषयमा राष्ट्रिय बहस गर्न आवश्यक भएको बताए ।
“देश तथा समाज निर्माण गर्ने भूमिका सरकारको मात्र हुँदैन, सरकारले आफ्नो ढंगले सोचेको होला, ”उनले भने, “हामी युवाभएको नाताले देशका जल्दा बल्दा समस्या र जनजीविकाको विषयमा हामीले बोल्नु पर्छ, हरेक समस्याको समाधान खोज्नु पर्छ ।”
“देशमा निराशा छाएको छ, जनता आक्रोशित बन्दै गएका छन् । राजनीति प्रति वित्रृष्णा बढेको छ,” उनले भने,“हामीले निराशाको मात्रै कुरा गर्ने हो भने यो देश कस्ले बनाउँछ । देशमा भ्रष्टचार छ, बेथिति छ तर यसका बावजुुत पनि हामी युवाहरुले आशाको किरण जगाउनु जरुरी छ ।”
देशमा हरेक वर्ष ५ लाख युवा बेरोजगार बन्दै गएको अवस्था छ । जसको कारण शिक्षित युवा जनशक्ति विदेश पलायन हुन बाध्य छ । उनले भने, युवा जनशक्तिलाई रोक्न सरकारले नयाँ रणनीति बनाउँन आवश्यक छ । देशमा दीर्धकालीन रोजगारीका अवसर सिर्जना गर्न नसेके युवा पलायनले निरन्तरता पाउँने उनको भनाइ थियो । सरकार र नेताहरुको कार्यशैली प्रति कटाक्ष गर्दै उनले भने, “हरेक समस्या समाधानमा सरकारले अग्रसरता देखाउनु पर्छ, यो सरकारलाई आराम गर्ने छुट छैन, नेपालमा नव प्रवर्तन कसरी गर्न सकिँछ । यो सोच्न जरुरी छ ।”
उनले सहकारीबाट ठगीएका नागरिकको बचत रकम सरकारले तत्काल फिर्ता गर्नु पर्ने समेत बताए । “जीबी राई आएपछि रकम फिर्ता गर्छु भनेर बस्नु ठूलो मुर्खता हुन्छ,” उनले भने, “आफनो गाँस काटेर बचत गरेको पैसा नपाउँदा जनता निराश छन् । सरकारले उनीहरुको पैसा तत्काल फिर्ता गर्नु पर्छ । रकम तत्काल फिर्ता गर्न नसके राहत भएपनि दिनु पर्छ ।” उनले नेपालमा जनताले अझै पनि गणतन्त्रको अनुभूति गर्न नपाएको गुनासो गरे ।
युवालाई रोजगारीको सुनिश्चितता, भष्टाचार उन्मुलन र सुशासन, महँगी र मूल्या वृद्धि नियन्त्रण, हरेक क्षेत्रमा युवाको अथए पूर्ण प्रतिनिधित्व, नागरिक मैत्री सरकार, विभिन्न संस्था सहकारी ठगीलाई कार्वाही, सहकारी पीडितलाई तत्काल र बचत फिर्ता, उद्यमशीलता नवप्रवर्तन र कृषिमा लगानी, नागरिकलाई सहज जीवन यापनका लागि राहत तथा सहुलियत, नैतिक मूल्य मान्यतामा आधारित राजनीति लगायतका मागसहित सुरु भएको संकल्प यात्रा देशका बिभिन्न ठाउँमा कोणसभा गर्दै आगामी मंसिर ४ गते महेन्द्रनगरमा समापन हुने आयोजकले जनाएको छ ।
अभियानमा सांस्कृतिक टोलीसहित ५० जनाको तरूण दलका युवा नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको छ ।
कार्यक्रममा नेपाली काँग्रेस झापाका सभापति देउकुमार थेवेले युवाहरुले सूरु गरेको यात्रालाई शुभकामना दिंदै देशभर सकारात्मक आशाको सञ्चार गर्न सुझाव दिए । नेविसंघ केन्द्रीय सदस्य प्रेमिका राना मगरले देशमै केही गर्छु भन्ने युवाहरुलाई पुँजी निर्माणका लागि सजिलो उपाय सरकारले तयार गर्नु पर्ने बताइन् । कार्यक्रममा बोल्दै धर्मेन्द्र नेम्वाङले युवाहरुको नेतृत्वले मात्रै देशमा देखिएको निराशा चिर्न सक्ने बताए । सो अवसरमा नेपाली सांस्कृतिक राष्ट्रिय टोलीका कलाकारहरूले रोचक नित्य प्रस्तुत गरेका थिए ।
नेपाली कांग्रेस मेचीनगर सभापति सुदय पनेरूको सभापतित्व रहेको अभियान उद्घाटन कार्यक्रममा स्वागत झापा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीले र सञ्चालन सचिव मुकेश लिम्बुले गरेका थिए ।
2024-11-08 मा प्रकाशित
प्रतिकृया दिनुहोस्