मेचीनगर । नेपाल सरकारको नाममा रहेपनि वर्षाैदेखि मेचीनगर– ५ स्थित नकलबन्दा टि–स्टेटले भोगचलन गर्दै आएको १० विगाह ५ कठ्ठा ७ धुर जमिन आज मेचीनगरपालिकाले आफनो नियन्त्रणमा लिएको छ ।
नकलबन्दा टि–स्टेटलाई सरकारी स्वामित्वमा रहेको जग्गा खाली गरिदिन पटक –पटक आग्रह गर्दा पनि टि–स्टेटले नटेरेको भन्दै आज मेचीनगर नगरपालिकाका नगर प्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोख्रेल उप्रेतीको नेतृत्वमा गएको टोलीले सो जग्गा स्थानीय सरकार मेचीनगरपालिकको स्वामित्वमा ल्याएको घोषणा गर्दै जग्गाको विवरण सहितको ब्यानर समेत टाँगेको छ ।
‘२०६६ मंसिर २२ गते अक्तियार दुरुपयोग अनुसन्धान आयोग टंङ्गाल काठमाडौंले सो जमिन नकलबन्दा टि स्टेटको नामबाट फिर्तागरी नेपाल सरकारको नाममा कायम गर्न दिएको निर्देशन दिए पछि मालपोत कार्यालय भद्रपुरले २०६६ पुस ६ गते सदर टिप्पणी उठाउँदै नकलबन्दा टि स्टेटको नामबाट नेपाल सरकारको नाममा ल्याएको रहेछ, ’मेचीनगरपालिकाका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले भने, ‘हामीले सो जग्गाको सन्दर्भमा केही सुूचना प्राप्त गर्याै र मालपोत कार्यालयमा अभिलेख माग्यौं, मालपोत कार्यालयले निम्न अनुसारको जग्गा सरकारी स्वामित्वको हो संरक्षण गर्नु भनेपछि हामीले संरक्षण गर्ने योजना बनायौं ।’
मालपोत कार्यालय झापाले नगरपालिकालाई उपलब्ध गराएको पत्रमा यस्तो विवरण उल्लेख छ । झापा साविक नकलबन्दा ७ का कि.न.हरु ३७०, ३७१, ३७२, ३७३, ३७५, ३७६, ३७७,२७८,३७९, ३८०, ३८२, ३८३, ३८५, ३८६, ३८७, ३८९, ३९०, २३१, २३२, ३८४, ३८१ र ३९१ का जग्गाहरु मालपोत कार्यलय झापा भद्रपुरको मिति २०४८ असोज २५ छुट जग्गा दर्ताको निर्णय पर्चाबाट दिनेश प्रसाद कानुको नाममा दर्ता भएका र दर्तावाल दिनेश प्रसाद कानुले उक्त जग्गाहरु र न.५७८ क मिति २०५५ भदौ ११ को राजिनामबाट नकलबन्दा टि. स्टेट लाई बिक्री गरि नकलबन्दा टि. स्टेटको नाममा कायम हुन गएकोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंङ्गाल काठमाडौको च.न. ७९० मिति २०६६ मंसिर २२ को निर्णय कार्यन्यन गर्ने सम्बन्धि पत्र तथा सोहि पत्र बमोजिम मालपोत कार्यलय भद्रपुरको मिति २०६६ पुस ६ को सदर टिप्पणीले नकलबन्दा टि स्टेटको नाममा कायम माथि उल्लेखित जग्गा बदर गरि नेपाल सरकारको नाममा कायम रहेकोे छ ।
नगरपालिकाले मालपोत कार्यालयबाट सो विवरण प्राप्त गरेसँगै टि–स्टेटल लाई जग्गा खाली गरिदिन आग्रह गर्दै आएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले जग्गा खाली गरिदिन पहिलो पटक २०८० असोज २ गते बगान मालिकलाई पत्रचार गरको नगरप्रमुख बुढाथोकीले बताए । त्यसबेला केही समय दिन बगान मालिकले भनेपछि हामीले १ वर्ष छोड्यौं । पून ः मिति २०८१ असोज ३० गते दोस्रो पटक पत्र पठायौं त्यसबेलापनि कर्मचारीहरुले टेलीफोन मार्फत समय माग्नु भएको थियो तर त्यसपछि उहाँहरु सम्र्कमा आउनु भएन उनले भने, ‘आज हामी जग्गा नियन्त्रणमा लिन बाध्य भयौं ।’ उनले अझैपनि बगान मालिकले आफना बोटविरुवा हटाउन चाहेको खण्डमा विरुवा हटाउन दिने बताए ।
नगरपालिकाले सो जग्गा आफनो संरक्षणमा रहने भन्दै जेसिवी लगाएर केही चियाको विरुवा समेत फाँडेको छ । ‘जग्गाको विवरण प्रस्तुत गर्दै मेयर बुढाथोकीले भने,‘ अहिले जग्गा नगरपालिकाको संरक्षणमा लिएका छौं केही दिनपछि सधियारको उपस्थितिमा नापजोख गर्ने काम हुन्छ । उनले सो जग्गामा नगरको हितहुने खालका कार्यक्रम सञ्चालन गर्ने बताए । उनले राजनीतिक दल, सामाजिक ब्याक्तित्वहरुको सल्लाहा अनुसार कार्यपालिकाको निर्णयबाट यस क्षेत्रको विकासको निमित्त कृषि, उद्योग र बहुउपयोगी सार्वजनिक महत्वका कामहरुमा जग्गा प्रयोग गरिने उद्घोष समेत गरे ।
सो अवसरमा मेचीनगरपालिकाकी उपप्रमुख मीना पोख्रेल उप्रेती, मेचीनगर ५ का वडाध्यक्ष कनक बहादुर कार्की, ४ का वडाध्यक्ष अर्जन कार्की, १० का वडाध्यक्ष नारायण खनाल कार्यपालिका सदस्य माया प्याकुरेल लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस्