कोरोनाले थलियो सामुदायिक वन र सिमसार क्षेत्र

2020-09-21 मा प्रकाशित

डम्बर बराल
सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषण गरेर नेपालमा २० लाख पर्यटक भित्र्याउने उद्घोष ग¥यो ।
पर्यटन वर्ष घोषणा हुँदा पर्यटन तथा सिमसार क्षेत्रको विकासले तीव्रता पाउने स्थानीय समितिले अपेक्षा गरेका थिए । बाह्य पर्यटकले भिजिट गर्दा देशमा पर्यटन क्षेत्रको प्रचार प्रसार हुने मात्र होइन धेरैले रोजगारसमेत पाउने आशा थियो । पर्यटन वर्ष सुरु भएसँगै केही स्थानीय सरकारले आफ्नो क्षेत्रमा रहेका सिमसार धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा लगानीसमेत सुरु गरेका थिए । तर विश्व महामारीको रूपमा फैलिएको कोरोना भाइरसको त्रासका कारण सरकारले पर्यटन वर्षलाई स्थगन ग¥यो । योसँगै चैत ११ गतेदेखि देश पूर्ण रूपमा बन्दाबन्दी अवस्थामा पुग्यो.। यसको असर प्रत्यक्ष रूपमा स्थानीय पर्यटन क्षेत्रमा समेत प¥यो जसको कारण आज स्थानीय पर्यटन तथा सिमसार क्षेत्रको अवस्था कमजोर बन्दै गएको छ ।


आन्तरिक तथा बाह्य स्रोत जुटाएर पर्यटन प्रवर्धनमा जुटेका सामुदायिक वनहरु यतिखेर आन्तरिक स्रोत नहुँदा आर्थिक संकटको सामना गरिरहेका छन् । पर्यटन प्रवर्धनमा जुटेका सामुदायिक बनको आन्तरिक स्रोत समय समयमा हुने काठ बिक्री र सिमसार क्षेत्रको अवलोकन गर्न आउने आन्तरिक पर्यटकबाट लिइने प्रवेश शुल्क नै हो तर हाल यी दुवै काम पूर्ण रूपमा रोकिएका छन् । मेचीनगर पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरूको लागि गन्तव्य बन्दै आएको थियो । नगरका सामुदायिक वनहरूले आफ्नो क्षेत्रमा भएका सिमसारलाई सदुपयोग गर्दै आकर्षक रूपमा त्यसलाई सजाइरहेका छन् । यी स्थानहरूमा बिदाका दिन मानिसहरूको बाक्लो उपस्थिति हुने गरेको थियो । तर कोरोनाको कारण विगत ६ महिनादेखि सामुदायिक वन तथा सिमसार क्षेत्र सुनसान बन्दै गएका छन् ।
मेचीनगर ११,१२ स्थित कालिका सामुदायिक वन तथा सिमसार क्षेत्रमा समितिले आन्तरिक पर्यटन प्रवर्धन गर्न विभिन्न संरचनाहरू निर्माण गरिसकेको छ । चिडियाघर, सिमसार निर्माण तथा आकर्षक बाल उद्यान, आकासे पुल, मेचीनगर झरना, ट्रि हाउस तथा रवब खेती यहाँको प्रमुख आकर्षणको केन्द्र रहेका छन् । समितिले अघिल्लो आर्थिक वर्षमा १३ लाखको लागतमा ट्रि हाउस निर्माण गरेको छ भने ३० लाखको लागतमा मेचीनगर झरना निर्माण भइरहेको छ झरना निर्माणको ८० प्रतिशत काम पुरा भइसकेको र बाँकी काम यसै आर्थिक वर्षमा पुरा हुने समितिका अध्यक्ष योगेश भट्टराईले बताए ।
यस आर्थिक वर्षमा पनि विभिन्न संरचना निर्माणको लागि ४५ लाख प्रदेश सरकारबाट र १० लाख संघीय सरकारबाट प्राप्त हुने अध्यक्ष भट्टराईले जानकारी दिए । यस क्षेत्रमा पर्यटकहरूलाई आकर्षित गर्न डेढ हेक्टर क्षेत्रफलमा पोखरी निर्माण गरिसकिएको छ । समितिले पोखरीमा माछापालन सुरु गरेर थप आम्दानीको स्रोतको व्यवस्था गरेको छ । यस वर्षबाट माछा बिक्री गरेर करिब ३ लाख जति आम्दानी लिन सकिने समितिले जनाएको छ । यस सिमसारको अर्काे आम्दानीको स्रोत रबर खेती हो । समितिले साढे ५ हेक्टर क्षेत्रफलमा रबर खेती गरिसकेको छ । वन क्षेत्रलाई थप आकर्षक बनाउन समितिले विभिन्न जातका सुनाखरी वृक्षारोपण गरेको छ ।
सिमसार क्षेत्रमा रहेको चिडियाघरमा बाँदर, बदेल, चित्तल हरिन, वन बिरालोलगायत विभिन्न प्रजातिका जनावरलाई संरक्षण गरेर राखिएको छ । बहकिएको मन भुलाउन प्रकृतिसँग रमाउन चाहनेहरूको बाक्लो उपस्थिति यस सिमसार क्षेत्रमा हुने गरेको थियो । गत आर्थिक वर्षमा १९ हजार आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गरेको सिमसारमा सय वर्ष भने शून्यको अवस्था रहेको अध्यक्ष भट्टराईले बताए ।
हामीले केही सातायता आन्तरिक पर्यटकलाई प्रवेश गर्न दिएका छौँ तर यसअघि पूर्ण रूपमा बन्द थियो । हाल आन्तरिक स्रोत नहँुदा जनावरलाई खुवाउने खाद्यान्न तथा कर्मचारीको लागि तलव व्यवस्थापन गर्न कठिन भएको उनले बताए । अध्यक्ष भट्टराईले भने, “केही महिना पछि त माछा बिक्री होला तर यतिखेर गाह्रो भयो ।” समितिले उत्कृट काम गरेकै कारण गत आर्थिक वर्षमा झापा जिल्लाका ५९ सामुदायिक वनमध्ये कालिका सामदायिक वन उत्कृष्ट वनको रूपमा सम्मानित भएको समितिले जनाएको छ ।


मेचीनगरको अर्काे पर्यटकीय क्षेत्र हो बाँसवारी सामुदायिक वन । मेचीनगर वडा नम्बर ११ मा रहेको यस सिमसार क्षेत्रमा आन्तरिक पर्यटकहरूलाई आकर्षित गर्न समितिले पोखरी तथा आकर्षक पार्क निर्माण गरेको छ । योसँगै पार्क क्षेत्रमा बालबालिकालाई थप मनोरन्जन प्रदान गर्न विभिन्न खेल सामग्रीको प्रबन्ध मिलाएको छ । आन्तरिक पर्यटकबाट ठुलो रकम संकलन गर्दै आएको सो सामुदायिक वनले यस आर्थिक वर्षमा भने न्यूनतम खर्चसमेत धान्न नसकेको समितिका अध्यक्ष तक्दिर प्रसाईँले बताए । उनले भने, “कोरोनाले सबै सकिदियो यतिखेर कर्मचारीलाई तलवसमेत खुवाउन धौधौ छ ।” अघिल्लो आर्थिक वर्षमा ५० हजार पर्यटकले यस क्षेत्रको भिजिट गरेको र सोबापत १० लाख आर्थिक संकलन गर्न सफल भएको उनले बताए ।


परा पर्यटनको रूपमा विकास हुँदै गएको सो वनमा हाल दुम्सी, पाइथन, इमु, अस्ट्रिज, कछुवालगायतका वन्यजन्तुलाई संरक्षण गरी राखिएको छ भने सिमसारको बीच भागमा शिवालय स्थापना गरिएको छ, जसले धार्मिक पर्यटन क्षेत्रको आभास गराउँदै आएको छ । अध्यक्ष प्रसार्इँले बाँसबारी क्षेत्रमा बुद्घको मूर्ति स्थापना गर्ने आफ्नो योजना रहेको समेत बताए । सो क्षेत्रमा अघिल्ला वर्षहरूमा विशेषगरी छुट्टीको समयमा वन्यजन्तु हेर्न र नौका विहार गर्न तथा पिकनिक खान आउनेहरूको भिड लाग्ने गरेको थियो । समितिले आगामी दिनमा वन क्षेत्रमा बाँस र कोला खेती गर्ने तथा पर्यटन क्षेत्रमा कम्पाउण्ड वाल निर्माण गर्ने योजना अघि सारेको छ । आन्तरिक पर्यटकहरूको बाक्लो उपस्थिति रहने यस बाँसबारी सामुदायिक वनमा पर्यटकहरूको उपस्थिति न्यून हुँदा आम्दानीको स्रोत सुकेको छ ।


उता खुट्टेडाँगी सामुदायिक वनले समेत पर्यटन प्रवर्धनमा ठुलो लगानी गरिसकेको छ । पोखरी तथा बाल उद्यान यहाँको आकर्षण हो । यहाँ नौका विहार गर्न विभिन्न क्षेत्रबाट मानिसहरू आउने गरेका थिए भने पार्कमा रमाउनेहरूको संख्या पनि कमी थिएन तर लकडाउनसँगै यस क्षेत्रको आम्दानीको स्रोत सुकेको छ । “लकडाउनले आम्दानीको सबै स्रोत जिरो बनाइदियो । रुखसमेत बिक्री गर्न पाएका छैनौँ,” समितिका अध्यक्ष टंकबहादुर नेपालले भने, “कोरोनाका कारण पर्यटन क्षेत्र तहसनहस भइसक्यो ।”
मेचीनगर ९ मा रहेको अर्काे पर्यटकीय गन्तव्य हो, थोप्ले विराम सामुदायिक वन । आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षित गर्न समितिले डाइनोसर तथा हात्ती निर्माण गरेको छ भने सो क्षेत्रको दृश्य अवलोकन गर्न बाँसद्वारा निर्मित दुई तले हावाघरसमेत निर्माण गरिसकेको समितिकी सचिव जानुका ओलीले जानकारी दिइन् । समितिले सो क्षेत्रमा काठे पुल तथा पोखरीसमेत निर्माण गरेको छ भने उक्त पोखरीमा माछा पालेर खान्तरिक स्रोत बढाउने समितिको योजना रहेको छ ।


पर्यटन विकासमा क्रमशः फड्को मार्दै आएको सो सामुदायिक वनको विकासको लागि अघिल्लो आर्थिक वर्षमा प्रदेश सरकारबाट ५ लाख प्राप्त भएको र सो रकमले २ सय ४० मिटर क्षेत्र घेराबारा गरिएको समितिले जनाएको छ । यस क्षेत्रको थप विकासको लागि यस आर्थिक वर्षमा समितिलाई ३५ लाख बजेट प्राप्त हुने भएको छ । सो रकमबाट टिकटघर, ट्रि कटेज, बाल उद्यानका सामग्री खरिद योजना रहेको सचिव ओलीको भनाइ छ । उनले भनिन्, “यसको डिपिआर निर्माण भइसकेको छ । अब बजेट आउनासाथ काम थाल्छौँ ।” झापा जिल्लामा फरक पहिचानका साथ स्थापित यस वनमा सखुवा प्रजातिका रुख छैन । यस वन क्षेत्रमा कुकाठ मात्र रहेकाले काठ बिक्रीबाट भने समितिले खासै आम्दानी लिन सकेको छैन । आन्तरिक स्रोत कमजोर भएकै कारण समितिले २ वर्षअघि निर्माण सुरु गरेको सामुदायिक भवन पुरा गर्न सकेको छैन । सो सामुदायिक भवन निर्माणको लागि मेचीनगर नगरपालिकाले १० लाख विनियोजन गरेको थियो । सो काम पुरा गर्न नगरपालिकासँग थप रकम माग गरिरहेको समितिले जनाएको छ । कोरोनाले थलिएको पर्यटनको विकासमा स्थानीय सरकारको ध्यान जान जरुरी छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु