मेचीनगर । गृहजिल्ला झापा आएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेचीनगरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरूले कालो झण्डा देखाएका छन्। मेचीनगर नगरपालिका–४ स्थित मानव सेवा आश्रममा भवनको शिलान्यास तथा उद्घाटन गर्न स्थलतर्फ जाने क्रममा प्रधानमन्त्री ओलीविरुद्ध उनीहरूले नाराजुलुश गरेका हुन्। सोही क्रममा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको थियो । पक्राउ पर्नेमा रास्वपाका क्षेत्र नम्बर ४ का सभापति शम्भु सुस्केरा रहेका छन् । उनीलाई प्रहरीले साझ छाडेको छ ।
प्रधानमन्त्रीलाई कालो झन्डा देखाउन राजमार्ग निस्कने रास्वपा कार्यकर्ताको योजना प्रहरीले थाहा पाए लगतै उनीहरूलाई सडकमै प्रहरीले रोक्न प्रयास गरेका थिए। सशस्त्र प्रहरी र नेपाल प्रहरीका २ जना डिएसपीसहित झन्डै ३ दर्जन बढी प्रहरीले मुख्य राजमार्ग निस्किने बाटोमै उनीहरूलाई रोकेका थिए । सोही क्रममा दुवै पक्षबीच ठेलमठेल समेत भएको थियो । अगाडि जान रोकेपछि रास्वपाका कार्यकर्ताहरूले प्रधानमन्त्रीविरुद्ध चर्को नाराबाजी गरिरहेका थिए ।
पार्टीसभापति रवि लामिछानेलाई विना कारण थुनामा राखेको भन्दै उनीहरूले प्रधानमन्त्री ओलीविरुद्ध नाराजुलुश गरेका हुन्। सहकारी ठगी प्रकरणमा रास्वपा सभापति लामिछाने कास्की प्रहरी हिरासतमा छन्।
जिल्लामा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली आज बिहान झापा आएका हुन्।
दुईदिने भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले मानव सेवा आश्रममा भवनको शिलान्यास कार्यक्रम पश्चात् दिउँसो दमक नगरपालिका–३ स्थित डेढ अर्बभन्दा बढी लागतमा नवनिर्मित बिजनेस भ्यू टावरको उद्घाटन गरे ।
प्रतिकृया दिनुहोस्