मेचीनगर । कोशी प्रदेश सरकारका खानेपानी उर्जा तथा जलस्रोत मन्त्री एकराज कार्कीले अपाङ्गता भएका मानिसहरूलाई उनीहरूको क्षमताको आधारमा अवसर दिनुपर्ने बताएका छन् । समाजमा अझैपनि शारीरिक अशक्त र अपाङ्गता भएका मानिसहरूलाई हेर्ने दृष्टिकोण गलत रहेको बताउँदै उनीहरूलाई पनि अवसर दिने हो भने सफल हुने बताए ।
सोमबार झापाको मेचीनगर नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र बितरण कार्यक्रमको उद्घाटन गर्न पुगेका मन्त्री कार्कीले अपाङ्गता भएका व्यक्तिहरूलाई माया होइन अवसरको खाँचो भएको बताएका छन् ।
उनीहरूलाई माया भन्दा पनि अवसर चाँहिएकोले प्राविधिक रूपमा दक्ष बनाउन कोशी प्रदेश सरकारले पहिलो पटक यो कार्यक्रम सुरू गरेको उनले जानकारी दिए ।
नगरपालिकाले अभियान कै रूपमा पुस १ गतेदेखि १५ गतेसम्म प्रत्येक वडामा अपाङ्गता भएका व्यक्तिहरुको बिशेष स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र बितरण गरिने कार्यक्रम रहेको छ । प्रत्येक वडामा एक एक दिन सञ्चालन हुने गरी आयोजित पन्द्रदिने कार्यक्रम अन्तर्गत १ नं वडाबाट उद्घाटन भई कार्यक्रम २, ३, ४, ५ हुँदै क्रमश १५ गते वडा नं १५ मा पुगेर सम्पन्न गरिने मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले बताउँछन् ।
अपांगता भएको मानिसको पिडा स्वयं र परिवारलाई मात्रै थाहा हुन्छ । त्यो पिडा कल्पना मात्रै गर्दा पनि असामान्य लाग्छ । पालिकाले अपाङ्गताको क्षेत्रमा केही सुरूवात गरेको छ तर, राज्य स्तरबाट पनि थप समन्वय बढाउनुपर्ने उनको भनाइ छ ।
मानवीय चिन्तनको चेत सहि कार्यका लागि लगाउँदै समाजका सबैले अशक्त एवम् अपांगता भएको मानिसहरुलाई सभ्य व्यवहार गर्नुपर्ने उपप्रमुख मीना पोख्रेल उप्रेती बताउँछिन् । यो अभियान नगरको बिशेष कार्यक्रम अन्तर्गत रहेको र यसलाई सफल पार्न सबै लाग्नुपर्ने उनको भनाइ छ ।
स्थानीय सरकारको हैसियतले मेचीनगर, कोशी प्रदेश सरकार र करुणा फाउण्डेशन बिच एक करोड ४२ लाखको त्रिपक्षीय सम्झौता गरी अपांगताको क्षेत्रमा महत्त्व दिँदै मेचीनगरमा अपांगता भएको मानिसहरुलाइ नवजात शिशुको जाँचमा वृद्वि, बाल स्वास्थ्यमा सुधार, अपाङ्गता भएका व्यक्तिहरुको जीवनको गुणस्तरमा सुधार, शिक्षामा पहुँच वृद्वि, परिवारको सशक्तिकरण र जीविकोपार्जनमा सुधार, सामाजिक क्रियाकलापमा पहुँच वृद्व, क्षमता अभिवृद्विमा सहयोग, प्रशासन तथा व्यवस्थापन सुदृढीकरणमा सहयोग पुग्ने लक्ष्य लिइएको मेचीनगरका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले बताए ।
कार्यक्रममा करूणा फाउन्डेसन नेपालका वरिष्ठ कार्यक्रम व्यवस्थापक कमल कोइरालाले कार्यक्रमको औँचित्यमाथि प्रकाश पारेका थिए ।
नगरमा हाल १ हजार ७४४ जनाको मात्रै नयाँ दर्ता कायम रहेको छ । यधपी पुरानो जनगणना अनुसार ३३ सय बढी अपांगता भएको मानिसको तथ्यांक रहेको थियो ।
शिविरमा स्वास्थ्य परीक्षण, श्रवण यन्त्र, ह्युलचियर, कृतिम हातखुट्टाको नापजाँच, विद्यालय भर्ना लगायतका सेवाहरु उपलब्ध रहने छ । आँखा, कान, मनोविद, मेडिकल लगायतका स्वास्थ्य परिक्षणका लागि बिशेषज्ञ डाक्टरहरुले सेवा दिने छन् ।
सोमबार भएको अभियानको उद्घाटन शत्रमा नेकपा एमाले मेचीनगर कमिटी अध्यक्ष राजु कार्कीलगायतका अतिथिहरूले शुभकामना मन्तव्य राखेको कार्यक्रम सञ्चालन वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकनश वस्तीले गरेका थिए ।
त्यस्तै अभियानको दोस्रो दिन मंगलबार मेचीनगर २ नं वडा कार्यालयमा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र बितरण गरिने मेचीनगर महिला बालबालिका तथा समाज कल्याण शाखा प्रमुख जयन्ती खरेलले जानकारी दिइन् ।
प्रतिकृया दिनुहोस्