भीम खवासको दोस्रो कृति ‘सोनसरी भोकै निदाई’को लोकार्पण, चार प्रतिभा सम्मानित

2024-12-29 मा प्रकाशित

मेचीनगर । राजनीतिकर्मी एवम् साहित्यकार भीम खवासको ‘सोनसरी भोकै निदाई’ नामक कथा संग्रहको शनिबार लोकार्पण गरिएको छ ।

मदन पुरस्कार विजेता वरिष्ठ साहित्यकार कृष्ण धराबासीले मेचीनगर–१० धुलाबारीमा रण–खड्ग खवास फाउन्डेसनद्वारा आयोजित एक समारोहमा पुस्तकको लोकार्पण गरेका हुन् ।
खवासको यो दोस्रो कृति हो । यसअघि उहाँको ‘नबिर्सिएका दिनहरु’ नामक संस्मरणात्मक कृति प्रकाशित भइसकेको छ ।

साहित्यकार धराबासीले ३५ वर्ष अघिदेखि राजनीतिकर्मीको रुपमा भीम खवासलाई चिनेको जनाउँदै उहाँमा रहेको साहित्यिक क्षमता बारेमा पहिलो कृति निस्कदा मात्र थाहा पाएको बताए।

उनले आफ्‌नी आमाले पनि कथाको पात्र सोनसरी जस्तै कयौं रात भोकै बिताएको बताए । उनले फाउन्डेसनलाई निरन्तरता दिन खवास परिवारका सन्ततिहरुलाई आग्रह गरे ।

कार्यक्रममा कृतिको समीक्षात्मक परिचय प्रस्तुत गर्दै समालोचक चुडामणि वशिष्ठले कृतिमा निम्न वर्गीय परिवारले खेप्ने गरेको पीडालाई आख्यानको रुपमा उतारिएको बताए ।

सो अवसरमा साहित्यकार विष्णु भट्टराई, पूर्व प्राज्ञ सभा सदस्य सुभद्रा भट्टराई, कृषि अभियन्ता भीम कुँवर, संविधानसभा सदस्य अम्बिका खवास, फाउन्डेसनकी सदस्य शीला खवास लगायतले बोलेका थिए ।

कार्यक्रमको अवसरमा फाउण्डेसनले अर्गानिक कृषि अभियन्ता भीम कुँवर, महिला उद्यमी फुलकुमारी चौधरी, सामाजिक अभियन्ता राम बुढाथोकी र उत्कृष्ट विद्यार्थी दिब्या रायालाई पुरस्कृत गरेको छ । विद्यार्थी रायालाई रु. पाँच हजार र अरु प्रतिभालाई रु. १५ हजारका दरले नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

चन्द्रगढी निवासी कृषि अभियन्ता कुँवरले लामो समयदेखि अर्गानिक खेतीका लागि जागरण अभियान सञ्चालन गर्दै आएका छन् भने शिवसताक्षीकी उद्यमी चौधरीले मौरीपालनमा आत्मनिर्भर बनेकी छिन् ।

कार्यक्रममा नेपाली कांग्रेस झापाका पूर्व उपसभापति एवम् साहित्यकार राम कट्टेल, साहित्यकार गणेश निरौला लगायत झापाका साहित्यकारहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता साहित्यकार एवम् फाउन्डेसनका अध्यक्ष भीम खवासले र सञ्चालन पत्रकार सन्तोष आचार्य गरेका थिए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु