कृष्णथुम्कीको हिसाव पारदर्शी छ : अध्यक्ष हिम्मत क्षेत्री

2024-12-30 मा प्रकाशित

मेचीनगर । मेचीनगर – १ स्थित पर्यटकीय तथा धार्मिक स्थल कृष्णथुम्की मन्दिरको संरचना निर्माणमा अनियमितता भएको गुनासो आएपछि सोमबार समितिले पत्रकार सम्मेलन आयोजना गरेको आय ब्यय विवरण पूनः सार्वजनिक गरेको छ ।
समितिका अध्यक्ष हिम्मत क्षेत्रीको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष क्षेत्रीले संरचना निर्माणमा ३० लाख ३९ हजार १८० रुपैयाँ खर्च भएको विवरण प्रस्तुत गरे ।
संरचना निर्माणको लागि सघन शहरी तथा भवन निर्माण आयोजना झापा मार्फत ३० लाख अनुदान र लागत सहभागिता ६ लाखगरी कूल ३६ लाखको काम हुनेगरी सुरुमा संझौता भएपनि समितिले लागत सहभागिता जुटाउन नसक्दा बजेट फ्रिजहुने अवस्थामा थियो । अध्यक्ष हिम्मत क्षेत्रीले पत्रकार सम्मेलनमा आय– ब्यय विवरण प्रस्तुत गर्दै भने, “समितिले पटक पटक अनुरोध गरेपछि धरौटी रकम पछि काट्ने सर्तमा काम अघि बढ्यो, हामीले सापटी रकम र ऋण लिएर काम थाल्यौं । काम सकिएपछि करिव २९ लाख बजेट आउने आश्वासन पाएका थियौं तर निर्माण कार्य पुरा भएपछि २८ लाख ५ हजार १९७ रुपैयाँ बराबरको मात्र मुल्याङ्कन भयो ।
समितिसँग लागत सहभागिताको निम्ति बजेट नभएपछि २० प्रतिशत लागत सहभागिता, ५ प्रतिशत धरौटी र शुन्य दशमलव ५ प्रतिशत कन्टिजेन्सी कट्टि गरी २० लाख ७९ हजार ७७२ रुपैयाँ मात्र समितिले प्राप्त गर्न सफल भएको अध्यक्ष क्षेत्रीले जानकारी दिए ।
बजेट आउने भएपछि उत्साहका साथ संरचना निर्माणमा हामी जुट्यौं सापटी र उधारोमै काम अघि बढ्यो, बिभिन्न संरचना निर्माणमा ३० लाख ३९ हजार १८० रुपैयाँ खर्च भएको उनको भनाइ छ । अध्यक्ष क्षेत्रीका अनुसार २५ दशमलव ५ प्रतिशत हुन आउने ७ लाख १५ हजार ३२६ रुपैयाँ काटिएको तथा समितिले लागत स्टेमिट भन्दा २ लाख ३४ हजार ६२६ रुपैयाँ बढी खर्च गरेको उनले बताए ।
समितिका सचिव डिगेन्द्रकुमार थापाले मन्दिरको छानाको छेउको झ्यालमा एल्मुनियम सिसा जडानमा ७० हजार, पुरानो भवन भत्काई राधा कृष्ण, देविथानसहित नयाँ निर्माणमा ८ लाख २० हजार १०९, साकेलाथान प्राङ्गण निर्माण १५ लाख ७ हजार ५३०, चौतारी भवनको उत्तर पूर्व टायल्समा ९ हजार ९८०, गुम्बाको प्राङ्गण ढलाई १० हजार ४९६, मन्दिरको छानामा पित्तलमा १५ लाख ६२ हजार २९५, मन्दिर रंगरोगनमा ८३ हजार ९४५, पार्कमा ब्लक र टायल्स लगाउँदा लागत स्टेमेट भन्दा २ लाख १ हजार ८०० र अन्य विविध कार्यमा ३ हजार ३२५ रुपैयाँ खर्च भएको बताए ।
आयोजनाबाट प्राप्त रकम भन्दा ९ लाख ४९ हजार ९५१ बढी रकम खर्च भएपछि हाल ऋणको रुपमा रहेको रकमलाई दायित्व मुक्तानी गर्न समितिले दाताहरुसँग छलफल अघि बढाएको छ भने आयोजनाबाट फिर्ता हुने ५ प्रतिशत धरौटी बापतको १ लाख ४० हजार, केशी प्रदेश सरकारको पर्यटन कार्यालयमा भएको धरौटी बापतको १ लाख ५० हजार, मेचीनगर नगरपालिका कार्यालयबाट १ लाख, वडा नम्बर १ बाट १ लाख, समाजसेवी ईन्द्रबहादुर चौहानबाट ७० हजार र विभिन्न दाताबाट ३ लाख ९० हजार रुपैयाँ प्राप्त हुने र सोही रकमबाट ऋण चुक्ता गर्ने समितिले जनाएको छ ।
समितिले २०८१ असार २७ गते संरचना निर्माण कार्य सम्पन्नगरी गत मंसिर १५ गते हिसाव सार्वजनिक गरेको थियो ।
त्यसबेला हिसाब किताब सार्वजनिक गर्ने क्रममा स्थानीयले विनियोजित बजेट भन्दा धेरै रकम खर्चमा आपत्ति गरेका थिए । ९ लाख ४९ हजार ९५१ रुपैयाँ घाटा भएको विवरणप्रति समितिलाई स्थानीयले अनियमितताको आशंका गरेर छानविनको माग गरेका थिए । समितिले आज (सोमबार) विहान मन्दिर परिसरमा पत्रकार सम्मेलन गरेर हिसाव कितावका बारेमा स्पष्ट पारेको हो ।
मन्दिर परिसरमा बिभिन्न संरचना निर्माणको लागि संघीय सरकारको शहरी विकास मन्त्रालय मार्फत संघन शहरी तथा भवन निर्माण आयोजना झापा मार्फत ३० लाख बजेट विनियोजन भएको थियोे ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु