
मेचीनगर । राजश्व संकलनमा एकरुपता ल्याउन तथा राजश्व संकलनमा देखिएका जटिलताको अन्त्य गर्न बुधबार मेचीनगरपालिकाले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
राजश्व परामर्श समितिको आयोजनामा सञ्चालित अन्तरक्रिया कार्यक्रममा नगरका १५ वटै वडाका सचिव तथा राजश्वसँग सम्बन्धित कर्मचारीहरुकोे सहभागिता रहेको थियो ।
मेचीनगरपालिकाकी उपप्रमुख एवम् राजश्व परामर्श समितिकी संयोजक मीना पोख्रेल उप्रेतीको सभापतित्वमा आयोजित कार्यक्रममा संयोजक उप्रेतीले नगरका १५ वटै वडामा राजश्व संकलनलाई प्रभावकारी बनाउन, राजश्वमा एकरुपता कायम गर्न तथा कुनै समस्या भए त्यस विषयमा समाधान खोज्ने उद्देश्यका साथ अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको बताइन् ।
यस किसिमको कार्यक्रमले आगामी आवाधिक नगरसभाको बैठकमा राजश्वसँग सम्बन्धित विषयमा छलफल हुने र प्रभावकारी कार्यक्रम बनाउन सहयोग पुग्ने उनको भनाइ थियो ।
सो अवसरमा मेचीनगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत होम प्रसाद भण्डारी, राजश्व परामर्श अधिकृत प्रेम प्रसाद पराजुलीले राजश्व संकलमा खेल्नु पर्ने भूमिकाको बारेमा प्रकास पारेका थिए ।
प्रतिकृया दिनुहोस्