मेचीडाँगीमा १५ दिवसीय कृषि तथा पर्यटन महोत्सव आयोजना हुने

2025-01-31 मा प्रकाशित

मेचीनगर । झापाको सुदुर पूर्व उत्तर क्षेत्र मेचीनगर १ स्थित मेचीडाँगीमा १५ दिवसीय कृषि तथा पर्यटन महोत्सव आयोजना हुने भएको छ । ग्लोबल मेची युथ क्लबको आयोजनामा माघ २१ गतेदेखि आगामी फागुन ५ गतेसम्म कृषि तथा पर्यटन महोत्सव आयोजना हुने भएको हो ।
आयोजकले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरेर महोत्सवको बारेमा जानकारी दिएको हो । क्लबका अध्यक्ष खेमराज पुरीले लागू औषध दुब्र्यसन न्यूनीकरण गर्न, धार्मिक पर्यटन क्षेत्रको विकास गर्न तथा स्थानीय उत्पादनलाई बजारीकरणमा सहयोग पुर्याउने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए । विभिन्न उत्पादन र वस्तुहरुका २१ वटा स्टल रहने महोत्सवमा बालबालिकाका विभिन्न मनोरञ्जनका सामग्री, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको वेजोड प्रस्तुति रहने उनको भनाइ छ ।
महोत्सवले स्थानीय उत्पादनहरु च्याउ, कोला, दुधजन्य पदार्थका परिकारहरुको बजारीकरण र प्रर्वद्धनका लागि टेवा पुग्ने विश्वास लिएको क्लबका सहासचिव पवन प्रधानले बताए ।
महोत्सवका सल्लाहकार महेन्द्र मल्लले लागूऔषध, विकृति र विसंगतीमा फसेका युवाहरुलाई सही बाटोमा ल्याउन तथा यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास र प्रवर्धनको लागि महोत्सव फलदायी हुने बताए ।
महोत्सवमा राष्ट्रिय कलाकार आउँदा रु.१५० देखि २०० रुपैयाँसम्म टिकटको शुल्क लाग्ने र अरु दिन भने प्रवेश निःशुल्क गरिने आयोजकले जनाएको छ ।
महोत्सवको उद्घाटन मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले गर्ने बताइएको छ । मेचीडाँगी धार्मिक तथा पर्यटनको हिसावले महत्वपूर्ण क्षेत्र हो । ग्राभिण भेगमा रहेको यो ठाउँको प्रर्वद्धन र विकासका लागि यसपटक युवाहरु उत्साहित भएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु