
झापा । झापाको मेचीनगरमा आगामी फागुन फागुन २१ गते बुधबारदेखि २८ गतेसम्म पाँचौ संस्करणको मेचीनगर गोल्डकप हुने भएको छ । मेचीनगर – ६ स्थित काकरभिट्टा माविको खेलमैदानमा गोल्डकप हुने भएको हो । काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजना तथा मेचीनगर नगरपालिकाको संरक्षणमा गोल्डकप सञ्चालन हुने आयोजकले जनाएको छ।
शनिबार काकडभिट्टा स्थित खानेपानीको सभाहलमा एक कार्यक्रमका बिच आयोजकले प्रतियोगिताबारे जानकारी दिएको हो । उक्त प्रतियोगिता सम्पन्न गर्नका लागि ७८ लाख ५८ हजार १०० रुपैयाँ लाग्ने अनुमान आयोजकले गरेको छ।
प्रतियोगितामा काठमाडौंको ए डिभिजनका ४ वटा क्लब सहित आयोजक काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर, मोफसलका ए डिभिजन क्लब र विदेशी २ टिम गरि जम्मा ८ टिमको सहभागिता रहने छ।
प्रतियोगिताको बिजेता टिमले नगद रु १० लाख सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद रु ५ लाख प्राप्त गर्नेछ । त्यस्तै विविध विधाका उत्कृष्ट पुरस्कारहरु समेत प्रदान गरिने आयोजकले जनाएको छ।
कार्यक्रममा संविधान सभा सदस्य रविन कोइरालाको प्रमुख आतिथ्य रहेको थियो । सो अवसरमा पूर्व प्रदेश सभा सांसद श्रीप्रसाद मैनाली, झापा जिल्ला फुटबल संघका महासचिव सुन्दर बस्नेत, नेपाली काँग्रेस मेचीनगर सभापति सुदय पनेरू, नेकपा एमाले अध्यक्ष राजु कार्की, पूर्वजिल्ला खेलकुद विकास समिति झापा अध्यक्ष शंकर थापा र चन्द्र प्रसाईलगायतले सल्लाह सुझावसहित शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा सहभागी सञ्चारकर्मी लगायतले प्रतियोगिताको बारेमा रायसहित जिज्ञासा राखेका थिए । काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरका अध्यक्ष नवराज ओलीको अध्यक्षता आयोजित कार्यक्रममा स्वागत अशोक राई र सञ्चालन लाक्पा तामाङले गरेका थिए
प्रतिकृया दिनुहोस्