
कनकाई ÷कनकाईमा जारी झापा जिल्ला पालिकास्तरीय पुरुष फुटबल प्रतियोगिताको सातौं संस्करण “कनकाई कप २०८१” को तेस्रो दिनको खेलमा बुद्धशान्तिलाई सडन डेथबाट पाखा लगाउदै शिवसताक्षी क्वाटर फाइनलमा प्रवेश गरेको छ ।
कनकाई खेलकुद प्रतिष्ठानको आयोजना तथा कनकाई नगरपालिकाको प्रायोजनमा कनकाई माविको खेल मैदानमा जारी प्रतियोगिताको तेस्रो दिन आईतवार शिवसताक्षी नगरपालिका र बुद्ध शान्ति गाउँपालिका बीच भएको खेलमा शिवसताक्षीले बुद्ध शान्तिलाई सडन डेथमा पराजित गरेको हो ।
खेल अबधि भर दुबै तर्फबाट २– २ गोलको बराबरी भए पछि खेल पेनाल्टीमा धकेलिएको थियो । पेनाल्टीमा समेत ४–४ गोलको बराबरी भएपछि सडन डेथमा गएको खेलमा शिवसताक्षी विजयी हुदै क्वाटर फाइनलमा प्रवेश गरेको हो ।
खेलको पहिलो हाफमा बुद्धशान्तिका खेलाडी सागर रसाईलीले खेलको १६ औं मिनटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसको लगत्तै खेलको १८ मिनटमा उनै खेलाडीले २ मिनटको अन्तरमा गोल गर्दै टिमलाई २–० को अग्रता दिलाएका थिए ।
पहिलो हाफमा कुनै पनि गोल गर्न नसकेको शिवसताक्षी खेलको दोस्रो हाफ सुरु भएको दोस्रो मिनटमै रजिन माझीले गरेको गोलबाट लयमा फर्कीएको थियोे । त्यस्तै खेलको दोस्रो हाफको १३ मिनटमा शिवसताक्षीका खेलाडी हेमन लिम्बूले गोल गर्दै खेललाई बराबरी गरेका थिए । निर्धारित समयमा दुबै तर्फबाट थप गोल नहँुदा खेल सडन डेथसम्म धकेलिएको थियोे ।
खेलको म्यानअफ दी म्याच बिजेता टिमका गोल किपर सन्दिप लिम्बू घोषित भए । उनले म्यानअफ दी म्याचको मेडल र नगद २ हजार एकसय रुपैयाँ प्राप्त गरे । इमान्सी निर्माण सेवाका संचालक युवा समाजसेवी रमेश खरेलले सौजन्य गरेको म्यान अफ दी म्याचको नगद पुरस्कार रमेशका पिता सामाजिक व्यक्तित्व देवीप्रसाद खरेलले प्रदान गरेका थिए ।
झापा जिल्लाका १५ पालिका मध्ये १२ पालिकाको सहभागिता रहेको प्रतियोगीताको बिजयी हुने टिमले नगद १ लाख १५ हजार तथा उपबिजयी हुने टिमले नगद ६१ हजार रुपैँया पाउने आयोजक समितिका अध्यक्ष छवि थपलियाले जानकारी दिए ।
प्रतियोगीता अवधिभरका लागि एम्बुलेन्स सेवाको सहयोग कनकाई नगर अस्पताल र नेपाल रेडक्रस सोसाइटी सुरुङ्गा उपशाखाबाट भएको छ भने स्वास्थ्य सेवाको सहयोग सुरुङ्गास्थित न्युरो मेडिसिन सेन्टरबाट संचालक सरोज ठाकुरले गरिरहेको आयोजक समितिले जनाएको छ ।
प्रतियोगितामा सोमबारको खेल कनकाई नगरपालिका र कचनकवल गाउँपालिका बीच हुने खेल संयोजक भुवन खतिवडाले जानकारी गराएका छन । प्रतिष्ठानका अध्यक्ष थपलियाको अध्यक्षता एवं शिवसताक्षी नगरपालिका वडा नं.४का वडाअध्यक्ष विष्णु प्रसाईँको प्रमुख आतिथ्य रहेको औपचारिक कार्यक्रमको संचालन सचिव रामप्रसाद निरौलाले गरेका थिए ।
प्रतिकृया दिनुहोस्