
काकरभिट्टा । झापाको काँकरभिट्टामा फागुन २१ गतेदेखि सुरु हुने पाँचौ संस्करणको मेचीनगर गोल्डकपको लोगो सार्वजनिक गरिएको छ । काकरभिट्टा स्थित खानेपानी उपभोक्ता समितिको सभाहलमा आज आयोजित कार्यक्रमकाबीच मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले हात्तीको मस्कट रहेको गोल्डकपको लोगो सार्वजनिक गरे ।
गोल्डकप मूल समितिका संयोजक श्रीप्रसाद मैनालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा मूल आयोजक समितिका सहसंयोजक तथा आर्थिक समितिका संयोजक विमल आचार्य, समितिका कोषाध्यक्ष गंगालाल गुरुङ, जिल्ला फुटबल संघ झापाका अध्यक्ष भगिरथ आले लगायतले गोल्डकपको तयारीका बारेमा जानकारी गराएका थिए ।
फागुन २८ गतेसम्म सञ्चालन हुने गोल्डकप सम्पन्न गर्न करीब ८० लाख रकम खर्च हुने आर्थिक समितिका संयोजक आचार्यले बताए । गोल्डकप सम्पन्न गर्न दश हजार शुल्क लिएर आजिवन सदस्य बनाउन शुरु गरिएको कोषाध्यक्ष गुरुङले बताए । उनका अनुसार अहिलेसम्म ३२१ जनाले आजिवन सदस्य बन्न इच्छा जनाएका छन् । कोषाध्यक्ष गुरुङका अनुसार प्रतियोगिताको मुख्य प्रायोजकबाट १५ लाख रकम लिने र एक भन्दा बढी सहप्रयोजकलाई ३ लाख रकम लिने निर्णय भएको छ ।
नेपाल र भारतका गरी आठ टिम सहभागि हुने मेचीनगर गोल्डकपको गोलो सार्वजनिक कार्यक्रममा काकरभिट्टा ट्रेनिङ सेन्टरका अध्यक्ष नवराज ओलीले जनकारी दिए । कार्यक्रमको सञ्चालन सचिव राजु कार्कीले गरेका थिए ।
प्रतिकृया दिनुहोस्