चन्द्रगढीलाई हराउँदै आदर्श युवा क्लब सेमिफाइनलमा

2025-02-25 मा प्रकाशित

नकलबन्दा । आदर्श युवा क्लब नकलबन्दामा जारी दोश्रो नकलबन्दा नगरस्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । सडन डेथमा चन्द्रगढी युवा क्लबलाई हराउँदै आदर्श युवा क्लबले सेमिफाइनलमा प्रवेश गरेको हो ।
खेलको १२ औँ मिनेटमा चन्द्रगढीका जर्सी नम्बर ३० का खेलाडी साहिल धिमालले टिमका लागि गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफ १–० मा सकिएको खेलको दोश्रो हाफमा आदर्श युवा क्लबका सुजन मगरले ४१ औँ मिनेटमा बराबरी गोल फर्काएका थिए ।
खेलको ५० औँ मिनेटमा राष्ट्रिय खेलाडी रेजिन सुब्बा मैदान प्रवेश गरेका थिए । मैदान प्रवेश गरेसँगै रेजिनले राम्रो मौका पाएका थिए । उनले गरेको प्रहार पोलमा लागेर फर्किदा चन्द्रगढीले थप गोल गर्न सकेन । निर्धारित समयमा खेल १–१ को बराबरी सकिएपछि खेल टाइब्रेकरमा गएको थियो ।


टाइब्रेकरमा समेत ३–३ जनाको बराबरी भएपछि खेल सडन डेथमा गएको थियो । आदर्शका सुजल मगर, सागर रसाइली, विजय राई, भाविस लिम्बू, युवराज पुरी, पुजन लिम्बू र पवन परियारले गोल गरे । चन्द्रगढीका केवल तामाङ, रोहन सुब्बा, रेजिन सुब्बा, रवि गिरी, रोहित सुब्बा, आभोस टुडुले गोल गरे भने सडन डेथमा राजेश शाहको पेनाल्टी आदर्शका गोलरक्षक युवराज पुरीले सेभ गर्दै टिमलाई सेमिफाइनल पुर्‍याए ।
खेलको म्यान अफ दि म्याच आदर्शका गोलरक्षक युवराज पुरी घोषित भए । उनले नगद १ हजारसहित ट्रफी प्राप्त गरे । नकलबन्दा स्पोर्टिङ क्लबको आयोजनामा जारी प्रतियोगिता मेची आधारभूत विद्यालयको खेलमैदानमा सञ्चालन भइरहेको छ । फुटबल प्रतियोगिता फागुन १७ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः नगद ५० हजार र ३० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्‌ ।
प्रतियोगिताको प्रथम पुरस्कार स्वर्गीय कार्गिल विजयवीर सहिद सुरेश क्षेत्रीको परिवारबाट प्राप्त भएको छ भने दोश्रो पुरस्कार स्व। टंक बहादुर देवकोटाको स्मृतिमा देवकोटा परिवारबाट प्राप्त भएको छ । प्रतियोगिताको प्रायोजकमा नकलबन्दा बचत तथा ऋण सहकारी संस्था लि। रहेको छ भने सहयोगी संस्थाहरुमा गंगा मेमोरियल इङ्लिस स्कुल र मेची आधारभूत विद्यालय रहेका छन्‌रु ।
प्रतियोगिता अन्तर्गत विभिन्न विधामा समेत खेलाडीहरुलाई अवार्ड प्रदान गरिनेछ । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १ हजार, उत्कृष्ट गोलकिपरलाई ३ हजार १ सय, प्लेयर अफ द टुर्नामेन्टलाई २ हजार १ सय र सर्वाधिक गोलकर्तालाई २ हजार १ सयसँगै मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।
मंगलबार (आज)हुने पहिलो सेमिफाइनल तुर्केनी फुटबल क्लब र धुलाबारी फुटबल क्लबबीच हुनेछ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु