मेचीनगरको मुहार फेर्न राजनीतिभन्दा माथि उठेर विकास निर्माणमा एक ढिक्का हुनुपर्छ : महामन्त्री शर्मा

2025-03-02 मा प्रकाशित

मेचीनगर । नेपाली कांग्रेसका महामन्त्री एवम् संघीय सांसद विश्वप्रकास शर्माले जलवायु परिवर्तनकोे कारण खानेपानी तथा जैविक विविधतामा ठूलो असर पर्दै गएको बताएका छन् । शनिबार धुलाबारी खानेपानीको २४ औैं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सांसद शर्माले सो कुरा बताएका हुन् ।
जलवायु परिवर्तनकै कारण ४७ वटा हिमताल जोखिममा रहेको र ती मध्ये ४२ वटा हिमताल कोशी क्षेत्रमै रहेको बताउँदै उनले वातावरण संरक्षणमा गम्भीर बन्नुपर्ने समेत बताए ।‘पानी बिना जीवन चल्दैन’ सांसद शर्माले भने,’चुरे दोहन, नदी उत्खनन् र जलवायुपरिवर्तनले पानीका श्रोत सुक्दै गएका छन् । त्यसैले पानीको श्रोतको दिगो ब्यवस्थापन गर्न जरुरी छ ।’ उनले स्वस्थ्य जीवन बाँच्न हाम्रो जीवन शैलीलाई समेत ब्यवस्थित गर्नु पर्ने बताए । संसारमा खान नपाएर भन्दापनि खान नजानेर मर्ने मानिसको संख्या दोब्बर रहेको उनको भनाई थियो ।
मेचीनगर क्षेत्रमा पछिल्लो समय विकास निर्माणले तीब्रता पाएको बताउँदै सांसद शर्माले भने, ‘संघीय, प्रदेश र स्थानीय सरकारको सहकार्यमा मेचीनगरले चाँडै काँचुली फेर्नेछ ।’ उनले त्यसको लागि राजनीति भन्दा माथि उठेर सोच्नु पर्ने बताए । विकास निर्माणमा राजनीति होइन् हातेमालो गर्नु पर्छ, विकास निर्माणको सन्दर्भमा हामी एक ठाउँमा उभिने हो भने मेचीनगरले चाँडै मुहार फेर्छ ।’
उनले धुलाबारी खानेपानी चारआली खानेपानी, काँकरभिट्टा खानेपानीलाई मात्र नभएर बाहुनडाँगी खानेपानीलाई समेत खानेपानी समस्या समाधानकोलागि ठूलो बजेट विनियोजन गरेको बताए । खानेपानी तथा सडक निर्माणको काम तीब्ररुपमा भइरहेको बताएका सांसद शर्माले झापाको विकासकैलागि वल्डबैंकको ठूलो बजेट लगानी भइरहेको बताए । दमक, बिर्तामोड र मेचीनगरमा वल्ड बैंकको बजेटले विकास निर्माणको ठूलो योजना अघि बढेको छ । त्यसमा पनि मेचीनगरमा दुई ठाउँ धुलाबारी उत्तर सडक र काँकरभिट्टा बाहुण्डाँगी कालोपत्रे सडक निर्माणले तीब्रता पाएको छ । उनले भने
कार्यक्रममा मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीले नगरभित्रका खानेपानी संस्थालाई ब्यवस्थित गर्न र सम्पूर्ण नगरवासीलाई खानेपानी उपलब्ध गराउन खानेपानी संस्थाहरुलाई मर्जर गरेर प्राधिकरण बनाउने तयारीमा मेचीनगर अधिबडेको बताइन् । उनले खानेपानी संस्थाहरुले आफूखुसी खानेपानीको शुल्क निर्धारण गर्दा खानेपानीको शुल्कमा एकरुपता आउन नसकेकोले त्यस तर्फ ध्यान दिन खानेपानी समितिलाई सुझाव दिइन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारीले मेचीनगरमा स्वतन्त्र रुपमा चलेका खानेपानी संस्थाहरुलाई पार्टी मर्जर गरेजस्तो गरेर गरेर मर्ज गर्ने र प्राधिकरण बनाउने गल्ती नगर्न नगरपालिकालाई सुझाए । प्रधिकरण बनाउँदा खानेपानी चल्दैन उनले भने, ‘नगरपालिकाले गर्ने थुप्रै कामहरु छन् नगरको ध्यान त्यस तर्फ जाओस ।’ कार्यक्रममा धुलाबारी खानेपानीका संस्थापक अध्यक्ष राम कट्टेल, नेकपा एकिकृत समाजबादी पार्टीकी केन्द्रीय सदस्य सविता भण्डारी भेटवाल, चारआली साना शहरी तथा खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष राजन चिमरिया लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
धुलाबारी खानेपानी उपाभोक्ता समितिका अध्यक्ष धनकाजी खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रम अध्यक्ष खत्रीले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरे । २०५२ सालमा स्थापना भएको धुलाबारी खानेपानी आयोजना एसियाली विकास बैंक र जाइका नेपालको पहिलो र दोस्रो चरणमा गरी ४५ करोड अनुदान सहयोगमा निर्माण सम्पन्न भएको र हाल ६ हजार २४५ जना उपभोक्तालाई खानेपानी उपलब्ध गराउँदै आएको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।
स्वागत उपाध्यक्ष हिमालय आङ्दाम्बेले र सञ्चालन सचिव उमानाथ सुवेदी (उमेश) ले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु