
झापा । आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई पराजित गर्दै पाँचौं मेचीनगर गोल्डकपको उपाधि काठमाडौँको चर्च ब्वाइज युनाइटेडले जितेको छ।
काँकरभिट्टा खेलमैदानमा शनिवार सम्पन्न फाइनल खेलमा आयोजकलाई १–० गोलले पराजित गर्दै चर्च ब्वाइजले उपाधि चुमेको हो । चर्च ब्वाइजले उपाधिसँगै नगद रु १० लाख प्राप्त गरेको छ। उपविजेतामा सीमित भएको आयोजकले नगद रु पाँच लाखमा चित्त बुझायो ।
चर्च ब्वाइजलाई च्याम्पियन बनाउन समीर तामाङले निर्णायक गोल गरेका थिए । उनले खेलको ११ औं मिनेटमा गोल गरे । अग्रता लिएको चर्च ब्वाइजले अधिकांश समय रक्षात्मक खेलेर आयोजक टोलीलाई उस्कै मैदानमा अल्मल्याएको थियो। काँकरभिट्टाका खेलाडीले पाएका गोलका धेरै अवसरलाई सदुपयोग गर्न नसक्दा चर्च ब्वाइज चम्कन सफल भयो।
प्रतियोगिताका नायक समीर तामाङ नै फाइनल खेलको प्लेयर अफ द म्याच घोषित भएर । उनले नगद ११ हजार पुरस्कार प्राप्त गरे।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आयोजकका खमिरगिल्सन कन्दङ्वा घोषित भए । उनले नगद ५१ हजार प्राप्त गरे । सर्वाधिक गोल कर्ता चर्च व्वाइजका अबोयोमी फकुन्ले र मच्छिन्द्रका युसुफ मलिक भए । उनहरुले जनही नगद २५ हजार र ट्रफ्री प्राप्त गरे । उत्कृष्ट प्रशिक्षक चर्च व्वाइजका सुमन श्रेष्ठ भए । उनले नगद २१ हजार पाए । प्रतियोगिताको गोलरक्षक चर्च व्वाइजकै टिकेन्द्र थापा भए । उनले नगद २१ हजार प्राप्त गरे । उत्कृष्ट डिफेन्स आयोजकका दिवस उराउ भए । उनले नगद २१ हजार रुपैयाँ प्राप्त गरे । उदीयमान खेलाडीको अवार्ड आयोजकका पर्शु राई भए । उनले नगद १५ हजार प्राप्त गरे ।
प्रतियोगितामा आयोजक काँकरभिट्टाफुटबल ट्रेनिङ सेन्टर, चर्च व्वाइज युनाइटेड, मच्छिन्द्र फुटबल क्लब, धरान फुटबल क्लब, झापा एफसी, सशस्त्र प्रहरी बलको एपीएफ एफसी, जर्जियन फुटबल क्लब भारत र उज्वेकिस्तानको व्ल्याक बुल्स सहभागी रहेका थिए ।
सोही समारोहमा फुटबलका माध्यमबाट मेचीनगरलाई चिनाउने विभिन्न खेलाडीलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा सन्देश श्रेष्ठ, नरोत्तम गौतम, संगिता राउत, लुना प्रधान, लिला थापा रहेका छन् । उनीहरुलाई सम्मान पत्र तथा नगदसहित सम्मान गरिएको थियो ।
आयोजक समितिका संयोजक श्रीप्रसाद मैनालीको सभापतित्व तथा कोशीक प्रदेशका मुख्य मन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रदेश सांसद माननीय गोपाल तामाङ, आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका अध्यक्ष नवराज ओलीले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारीको गोपाल अधिकारी, मेयर गोपालचन्द्र बुढाथोकी, उपमेयर मीना पोख्रेल उप्रेती, झापा गोल्डकपका अध्यक्ष केदार गिरी, पूर्व अध्यक्ष विनोद बस्नेत, भद्रपुर गोल्डकपका अध्यक्ष दिपेश ढकाल, नेपाल पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरीलगायत विभिन्न राजनीतिक दल तथा सामाजिक संघ संस्थाका प्रमुखहरुको उपस्थिति रहेको थियो ।
आयोजक समितिका सहसंयोजक बिमल आचार्यले स्वागत गरेको कार्यक्रमको सन्चालन सचिव राजु कार्कीले गरेका थिए ।
प्रतिकृया दिनुहोस्