
कनकाई । झापाको कनकाईमा भएको जिल्ला स्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि कनकाई महिला फुटबल टिमले हात पारेको छ।
कनकाई खेलकुद प्रतिष्ठानको आफ्नो वार्षिक क्यालेण्डरका रुपमा रहेको प्रतियोगिताको नवौं संस्करणको उपाधि कनकाई महिला फुटबल टिमले हात पारेको हो । काकरभिट्टा महिला फुटबल टिम र कनकाई महिला फुटबल टिम बीच भएको प्रतियोगितामा ३ —० गोलको अन्तरले कनकाईले उपाधि चुमेको हो । उपाधिसँगै कनकाईले १ लाख १ हजार नगद सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरेको छ । उपविजेता बनेको काकरभिट्टा महिला फुटबल टिमले नगद ५१ हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा कनकाई महिला फुटबल टिमकी जेनिफर राना म्यान अफ द म्याच घोषित भइन् । उनलाई जामुनबारी सामुदायिक वन समुहका सचिव दिपक ओलीले स्पोन्सर गरेको नगद पुरस्कार र मेडल प्रदान गरिएको छ । त्यस्तै प्रतियोगिताको सबै विधामा विजेता टिमका खेलाडीले अवार्ड प्राप्त गरेका छन् । यसै क्रममा बेष्ट डिफेन्डरका रुपमा खुस्मा राई, बेष्ट मिड फिल्डर सन्जु राई, बेष्ट गोल किपर शुसिला चौधरी, सर्वाधिक गोल कर्ता समिक्षा मगर र सर्वोत्कृष्ट खेलाडी सिम्रन राई घोषित भए । सबै विधामा विधागत नगद पुरस्कार र मेडल प्रदान गरिएको खेल संयोजक गीता खरेलले जानकारी दिइन् । पूर्वकै प्रसिद्ध पर्यटकीय क्षेत्र जामुनबारी सामुदायिक वन एवं जामुनखाडी सिमसार क्षेत्रको खेल मैदानमा शनिवार सम्पन्न प्रतियोगितामा जिल्लाका ८ वटा टिमको सहभागिता रहेको थियो ।
मुख्य प्रायोजक कनकाई नगरपालिका रहेको प्रतियोगितामा जामुनबारी सामुदायिक वन उपभोक्ता समूह एवं जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्र सहआयोजकका रुपमा रहेको बताइएको । प्रतियोगिताको सहयोगी संस्थाका रुपमा कनकाई नगरपालिका वडा नं.२ को कार्यालय, जामुनखाडी स्पोर्टिङ क्लव र जामुनखाडी किर्तन मण्डली रहेको बताइएको छ । प्रतियोगिताको अवधिभर स्वास्थ्य सामाग्रीको निशुल्क सेवा कनकाई १ जुकेकल्भर्टस्थित अग्रज फार्मेसीले गरेको बताइएको छ । त्यस्तै नेपाल रेडक्रस सोसाइटी सुरुङ्गा उपशाखाले खेल अवधिभर एम्बुलेन्स सेवा प्रदान गरेको बताइएको छ । हरेक खेलमा प्रदान गरिने म्यानअफ द म्याचको डमी चेक दोमुखा बहुउद्देश्यीय सहकारी संस्थाबाट सहयोग प्राप्त भएको प्रतिष्ठानका उपाध्यक्ष भुवन खतिवडाले जानकारी दिए ।
प्रतियोगितालाई सहज रुपमा सम्पन्न गर्न विभिन्न दाताहरुबाट सहयोग समेत प्राप्त भएको प्रतिष्ठानका कोषाध्यक्ष डम्बरप्रसाद फुयालले बताएका छन् । जसमध्ये सहआयोजकका रुपमा रहेको जामुनबारी सामुदायिक वन समुहबाट रु.३० हजार, कनकाई वडा नं.२ को कार्यालयबाट रु.३० हजार, कनकाई सामुदायिक वन समुहबाट नगद १० हजार २सय साथै वन समुहको ट्याङकरबाट १० हजार ८ सय बराबरको खेलमैदानमा पानी सिंचाई सहित २१ हजार सहयोग प्राप्त भएको बताइएको छ ।
सहयोगकै क्रममा कनकाई १ स्थित बसुन्धरा कृषि सहकारी संस्थाबाट रु.५ हजार एकसय, गौरादह ९, बैगुनधुरास्थित तेज ईटाका संचालक सिताराम भट्टराईबाट रु. ५ हजार, कनकाई ४ स्थित दिव्यरत्न अंग्रेजी माविका संचालक सागर ढुङ्गानाबाट रु. ५ हजार एकसय, हाल इजरायलमा रहेका बाह्रदशीको घोडामारा निवासी चन्द्र खरेलबाट रु. ५ हजार एकसय, विर्तामोडस्थित बशिष्ट खरेल मन्दिरका अध्यक्ष गंगाराम खरेलबाट रु. ५ हजार एकसय, सुरुङ्गास्थित होटल डिलाइटका संचालक ख्याम ओलीबाट रु. ५ हजार एकसय, प्रतिष्ठानकी पूर्व सचिव अम्बिका खरेलबाट रु. ५ हजार नगद सहयोग प्राप्त भएको प्रतिष्ठानका कोषाध्यक्ष फुयालले जानकारी दिए ।
प्रतिष्ठानका अध्यक्ष छबि थपलियाको अध्यक्षता एवं कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको समापन समारोहमा प्रतिष्ठानका संस्थापक अध्यक्ष ज्योतिकुमार उप्रेती, पूर्व अध्यक्षद्वय दुर्गा प्रसाईँ र दिननाथ खतिवडा, कनकाई २ का वडाअध्यक्ष बलराम राई, वडा नं. ३ का वडाअध्यक्ष युवराज चम्लागाईँ, वडा नं. ७ का वडाअध्यक्ष भिष्म सिटौला,जामुनबारी सामुदायिक वन समूहका अध्यक्ष एवं प्रतिष्ठानका सल्लाहकार परशुराम गिरी, प्रतिष्ठानका अन्य सल्लाहकारहरु शेरबहादुर थापा, नारायण पोखरेल, राजेन्द्र उप्रेती, ख्याम ओली लगायत स्थानीय जनप्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको समेत सहभागीता रहेको बताइएको छ ।
कनकाई ३ सुरुङगास्थित ग्लोवल एडुकेयर एकाडेमीका विद्यार्थीहरुको स्काउट मार्चपासले अतिथीहरुलाई स्वागत गरेको थियो । त्यस्तै देवकोटा एजुकेशन फाउण्डेशनकी छात्राले स्वागत गीत प्रस्तुत गरेकी थिइन् भने स्थानीय कलाकार सन्तोष रायमाझीले समेत प्रस्तुत गरेको गीतले खेलको अवलोकन गर्न आएका सबैलाई थप मनोरन्जन प्रदान गरेको थियो । कार्यक्रममा कनकाई वडा नं= ४ का वडाअध्यक्ष रोशन सुवेदी, महिला नेतृ कविता बस्नेत, प्रमुख अतिथी कनकाई नगर प्रमुख पोखरेलले शुभकामना मन्तव्य राखेका थिए । खेल संयोजक गीता खरेलले स्वागत गरेको कार्यक्रमको संचालन प्रतिष्ठानका सचिव रामप्रसाद निरौलाले गरेका थिए ।
प्रतिकृया दिनुहोस्