
चारआली, ३ चैत । झापामा वन डढेलो रोकथाम तथा नियन्त्रणका लागि सचेतना अभियान सुरु गरिएको छ ।
डिभिजन वन कार्यालय झापाको आयोजना तथा सव डिभिजन वन कार्यालय धाइजनको समन्वयमा आजदेखि सप्ताहव्यापी कार्यक्रम सुरु गरिएको हो ।
‘डढेलो व्यवस्थापनलाई प्रोत्साहन गरौँ, वन्यजन्तुको प्राकृतिक वासस्थानको संरक्षण गरौँ,’ वन क्षेत्रमा आगो लगाउनु दण्डनीय अपराध हो जस्ता नारा लेखिएका प्लेकार्डसहित मेचीनगर–१३ स्थित चारआलीमा रहेको प्रगति सामुदायिक वन उपभोक्ता समितिको क्षेत्रबाट सुरु गरिएको सचेतना ¥यालीले चारआली बजार परिक्रमा गर्दै कोण सभामा परिणत भएको थियो ।
वन डढेलो नियन्त्रण अभियान सुरु गरिएको मेची सव डिभिजन वन कार्यालयका वन अधिकृत सुरज निरौलाले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल तथा डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले संयुक्त रुपमा अभियानको उद्घाटन गरेका थिए ।
सुख्खा मौसम सुरु भएसँगै वनमा डढेलोको जोखिम बढ्ने हुँदा त्यसको रोकथामका लागि सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रत्येक वर्ष विशेष अभियान सञ्चालन गर्ने गरिएको सव डिभिजन वन कार्यालय धाइजनमा कार्यरत साहयक वन अधिकृत डिल्लीराम खरेलले बताए ।
वन डढेलो व्यवस्थापनका लागि निरोधात्मक उपाय अवलम्बन गर्दै वन डढेलोबाट हुने जनधन र वनको क्षति न्यूनिकरण गर्न यही चैत ७ गतेसम्म ‘वन डढेलो सचेतना सप्ताह’ सञ्चालन गरिने उनले बताए ।
उनका अनुसार चैत ४ गते वन डढेलो नियन्त्रण तथा व्यवस्थापन तालिम बुद्धशान्तिको आर्दश सामुदायिक वनमा चैत ५ गते कनकाई सव डिभिजन कार्यालय र जलथल सव डिभिजनमा समुदायमा वन डढेलो रोकथाम सम्बन्धी सचेतना गर्ने, चैत ६ र ७ गते ज्वलनशिल पदार्थ व्यवस्थापन तथा प्रागंरिक मल तयारी तालिम लगायतका कार्यक्रम तय गरिएको छ ।
समुदाय, वन कर्मचारी तथा सरोकारवाला निकायहरूसँग अन्तरक्रियासहित विविध कार्यक्रम गर्दै सप्ताहव्यापी कार्यक्रम अगाडि बढाउने बताइएको छ ।
वनमा डढेलो लाग्न नदिन सबै नागरिकलाई सचेत हुन डिभिजन वन कार्यालयले आग्रह समेत गरेको छ । कार्यक्रममा प्रमुख अतिथि ढकाल, मेचीनगर–१३ का वडाध्यक्ष कृष्णराज सिग्देल, सामुदायिक वन मेचीनगर महासंघकी अध्यक्ष जानुका ओली लगायतले वन डढेलोबाट जोगाउन सबैले सतर्कता अपनाउन आवश्यक रहेकोमा जोड दिए ।
साहयक वन अधिकृत डिल्लीराम खरेलले सञ्चालन गरेको कार्यक्रमको स्वागत सव डिभिजन वन कार्यालय धाइजनका प्रमुख सुरज निरौलाले गरेका थिए ।
प्रतिकृया दिनुहोस्