
झापा, ३ चैत । लोकतन्त्र पोस्टका प्रधान सम्पादक मोहन काजीलाई यसवर्षको ‘मार्सेली उपभोक्ता सचेतना पुरस्कार’ प्रदान गरिने भएको छ ।
उपभोक्ता अधिकारका क्षेत्रमा लामो समयदेखि नेतृत्व गरिरहेका कृष्णप्रसाद भण्डारी मार्सेलीले विराटनगर स्थित राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थामा अक्षयकोषसहित उक्त पुरस्कारको स्थापना गरेका हुन् ।
सहकारी संस्थाले आइतबार विराटनगरमा एक कार्यक्रम गरी उक्त पुरस्कार बारे जानकारी गराएको हो । उपभोक्ताको हक, हित र अधिकारका पक्षमा योगदान पुर्याए पहिलोपल्ट यो पुरस्कार पत्रकार काजीलाई दिने निर्णय भएको पुरस्कारका संस्थापक मार्सेलीले बताए । उपभोक्ता हितका क्षेत्रमा नेपालमा स्थापना भएको यो पहिलो पुरस्कार हो ।
मेचीनगर नगरपालिका–१० निवासी पत्रकार काजी उपभोक्ता जागरण अभियान नेपालका अभियन्ता हुन् । विश्व उपभोक्ता अधिकार दिवसका दिन पारेर आगामी साउन ४ गते पुरस्कार हस्तान्तरण गरिने राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जीवन काफ्लेले बताए । पुरस्कारको राशि १५ हजार रुपैयाँको रहने छ ।
सहकारीद्वारा आज आयोजित कार्यक्रममा पुरस्कृत व्यक्तिको घोषणसँगै अधिकारकर्मी मार्सेलीद्वारा सम्पादित जागरण अभियान नामक वार्षिक स्मारिकाको नवौं अंकको लोकार्पण समेत गरिएको थियो ।
सहकारीको सभाकक्षमा भएको कार्यक्रमको अध्यक्षता सहकारीका अध्यक्ष काफ्लेले तथा स्मारिकाको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि साहित्यकार बलराम पोखरेलले गरेका थिए ।
कार्यक्रमको सञ्चालन सहकारीका सचिव ओम सुवेदी र स्वागत सहकारीका उपाध्यक्ष तुलसी नारायण अधिकारीले गरेका थिए । सो अवसरमा मार्सेलीले स्मारिका र पुरस्कारका सम्बन्धमा प्रकाश पारे ।
कार्यक्रममा अधिकारकर्मी मणि अर्याल, प्राध्यापक कविराज न्यौपाने, बाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख हितेश वस्नेत, कोशी प्रदेश सामाजिक विकास मन्त्रालयकी महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले उपभोक्तामा जागरण ल्याउन पुरस्कारले प्रेरणा प्रदान गर्ने बताए ।
प्रतिकृया दिनुहोस्