
डम्बर बराल
झापा । ‘रामोसँग पढ्नु है छोरा, आमालाई काम सघाउनु, आमाले भनेको मान्नु म पैसा कमाएर चाँडै घर फर्कन्छु’ मेचीनगर – ८ का गंगा मेचेलाई यो शब्दले सँधै झस्काइरहन्छ । हरेक चाँडपर्व होस् या अरुनै समय गंगा मात्रै होइन परिवारका सबै सदस्यले बुबा आउने बाटो कुरेको ३७ वर्ष बित्योे । हरेक चाँडपर्वमा अभिभावकको अभाव महशुस हुन्छ अनि सबैका आँखा रसाउँछन् ।
जीवन यापनको लागि पैसा कमाउन मुङ्लान जाने चलन पुरानै हो । केही वर्ष अधिसम्म भारतका बिभिन्न शहर अनि कोइलाखानी नेपालीको मुख्य गन्तब्य हुने गरेको थियो । आर्थिक अभावका कारण वैदेशिक रोजगारीकोलागि तेस्रो मुलुक जाने अवसर थोरैलाई मात्र मिल्थ्यो । सर्बसाधारण अधिकांशको रोजाई भारत नै बन्ने गरेको थियो ।
कोइला खानीमा राम्रै कमाइ हुन्छ भन्ने सुनेका मेचीनगर – ८ का शुबलाल मेचे (सुब्बा ) ले पनि आफ्नो गन्तब्य भारतको मेघालय स्थित कोइलाखानीलाई बनाउँने निधोगरे । कोइला खानीमा राम्रोसँग काम गर्ने अनि पैसा कमाएर परिवारलाई सुख दिने हुटहुटीले उनी २०४८ साल भदौ महिनामा परिवारबाट विदा भए ।
काँधमा झोला भिरेर हिँड्ने बेलामा उनले छोरा गंगालाई भनेका थिए, ‘छोरा रामोसँग पढ्नु, आमालाई काम सघाउनु, भाइ – बहिनीहरुको हेरचाहा गर्नु म पैसा कमाएर चाँडै घर फर्कन्छुु ।’ बुबा पैसा कमाउन जानुभएको छ भन्ने बुझेका गंगाले बुबाको आर्शिवादलाई सँधै शिरमा राखेर संघर्ष गरे । पढे, आमाको साहारा बने । तर अझै सम्मपनि बुबा नफर्किएपछि उनीमात्र होइन सिंगो मेचे परिवार यतिखेर पीडामा छ । पति आउने बाटो कुर्दै पतिको यादमा वर्षाै टोलाएकी फुटाउ मेचेको ६ महिना अधि ७१ वर्षको उमेरमा निधन भयो ।
बुबा कोइलाखाद जाँदा छोरा गंगा १७ वर्षका मात्र थिए । आज उनी ५२ वर्षका भए । ‘बुबा चाँडै आउँछु भनेर जानु भएको थियो,’ गंगाले गहँभरी आँसु पर्दै भने, ‘हामीलाई सुख दिनकैलागि परिवारलाई छोडेर जानु भएको बुबा ३७ वर्ष बित्दापनि फर्कनु भएन अब हामीले कहाँ खोज्ने ।’
बुबा लामो समय नफर्किएपछि छोराहरु बुबाको खोजीमा कोइला खानीसम्मै पुगे । उनले भने, ‘बुबा नआएपछि माइलो भाइ कृष्णलाल सहयोगी साथीहरु लिएर बुबाको खोजी गर्न कोइलाखानी मेघालय पुगेपनि बुबासँग भेट नभएको उनले सुनाए । त्यसपछि आफूपनि मेघालय गएँ तर पनि बुबाको पत्तो लागेन । कोइलाखानी्मा नभेटिएपछि बुबा अन्तकतै कामगर्दै हुनुहुन्छ भन्ने आशमा बसेका थियौं तर अव त बुबाको उमेरपनि ढल्किसक्यो अव त काम गर्न सक्ने उमेरपनि छैन । रसाएका आँखा पुच्छ्दै उनले भने, ‘बुबा फर्किएर आइदिनु होला हामी तपार्इँको पर्खाइमा छौं ।’
‘बुबा गएपछि आमाको आँखा नरसाएको दिनै हुँदैन थ्यो,’ उनले भने, ‘बुबा फर्कने बाटो हेर्दा हेर्दै आमाले पनि हामी सबैलाई छोडेर ६ महिना अघि यो धर्तिबाट विदा लिनु भयो । आमाले त बुबालाई फेरि भेट्न पाउनु भएन, अहिले नाति नातिनाले पनि हजुर बुबा कहाँ हुनुहुन्छ ? कहिले आउँनु हुन्छ ? भनेर प्रश्न गर्छन हामीले के जवाफ दिने, कति आफन्तले त बुबा फर्कने आशा मारिसके तर हाम्रो आशाको त्यान्द्रो टुटेको छैन ।’
भारतको कोइला खानीमा कामगर्न जाने धेरै जसो मनिसको जीवन जोखिममा पर्ने गरेको जानकाहरु बताउँछन् । पाँच वर्षसम्म कोइलाखानीमा काम गरेर फर्किएका सोही वडाका विष्णुलाल मेचेले कोइला खानीमा कामगर्दा कठिन परिस्थितिको समान गर्नु परेको बताए । ‘पहिला पहिला काम गर्ने र आफ्नो मान्छे हुनेहरुले राम्रै कमाए होलान तर अधिकांश नेपालीहरुको त्यहाँ र्दुदशा भएको छ,’ उनले भने, ‘कमाएर साखै फर्किएका छैनन् । कसैले कमायो भने पनि त्यहीँ सक्नेगरी गतिविधि हुन्छ ।’ कमाउन गएका नेपालीहरु खसियानी केटीहरुको चङ्गुलमा फस्नेगरेको उनले बताए । ‘पैसा कामाउने लक्काजवान केटा भेटेभने खसिएनीहरुले छोड्दैनन् अनेक प्रयास गरेर फसाउँछन् र विबाह गर्न बाध्य पार्छन अनि विग्रीएन परिवार,’ उनले भने, त्यसपछि उनीहरुले जे भन्यो त्यो मान्नुपर्छ । त्यहाँ केटीले बिवाह गरेर केटा लाने चलन छ, मनपरेन र काम गर्न सकेन भने छिनभरमै तलाक दिन्छन् ।’
‘म पनि कमाउँछुकी भनेर २०४१ सालमा कान्छा तामाङको कुरा सुनेर कोइलाखानी गएको थिएँ । ५ वर्ष काम गर्दा ११ हजार मात्र कमाउँन सकेँ, काम गर्दागर्दै मलेरियाले झण्डै लग्यो, त्यसपछि पैसा होइन रोगी शरीर लिएर घर फर्किएँ,’ उनले भने, ‘त्यहाँ औषधि खाँदापनि निको भएन, मलेरियाको औषधि त राम्रो हाम्रो देशमै रहेछ । नेपाल आएर धन्न जीवन बाँच्यो ।’
कोइलाखानीमा काम गर्दा भोगेको पीँडा सुनाउँदै गर्दा भाबुक बनेका विष्णुलालले त्यहाँ जीवनलाई दाउमा राखेर काम गर्नु पर्ने बताए । कतिखेर कोइलाको ढिस्को झर्छ पत्तै हुँदैन, सानो डिस्कोले लाग्योभने आयापनि भन्न पार्इँदैन । पैसा कमाउँन गएकाहरु कयौंको जीवन त्यहीँ सकिएको छ । बाँचेर आउँनेहरुपनि रोगी भएर फर्कन्छन् ।’ मेघालयको कोइला खानीमा पैसा कमाउने सपना बोकेर कसैलाई पनि नजान उनले सुझाए ।
प्रतिकृया दिनुहोस्