निःशुल्क रुपमा चित्र कोरेर मन्दिर सिंगारदै केसाङ

2025-05-03 मा प्रकाशित

सालघारी । मेचीनगरका केसाङ लामा यतिखेर कला अनि संस्कृतिका पर्याय जस्तै बनेका छन् । लामो समय काठमाडौंमा बसेर केही वर्ष अघि आफ्नै जन्म थलो मेचीनगर फर्किएका लामा बिभिन्न मठमन्दिरहरुमा निःशुल्क रुपमा आफ्नो कला प्रस्तुत गरिरहेका छन् । चित्र कलामा निक्कै दक्खल राख्ने लामाले चित्रकला के हो ? समाजलाई बुझाउन समय समयमा चित्रकला प्रदर्शनी समेत गर्दै आएका छन् ।


करिव डेढ महिना लगाएर मेचीनगर –८ स्थित सालघारीमा रहेको नवनिर्मित दुर्गा मन्दिरको भित्तामा बिभिन्न आकर्षक चित्रकोरेर सजाएका लामाले शनिबार एक कार्यक्रमकाबीच समितिलाई हस्तान्तरण गरे ।
मन्दिरको भित्तामा ४० दिनबढी समय लगाएर हाते कुची घोटेका केसाङले बडेमानका विभिन्न ७ वटा चित्रहरु कोरेका छन् ।
पर्खालमा महादेव, हनुमान, राधाकृष्ण, हलो जोतिरहेको किसान र ४० वर्षअघिको सालघारी जस्ताको तस्तै उतारिएको छ ।


कलासँग रमाउने केसाङ सार्वजनिक स्थानहरुमा यसरी नै रङ भर्दै हिँडिरहेका छन् । यस अघि उनले मेचीनगर ८ स्थित पातालगांगा मन्दिरमा समेत शिवजीको विशाल चित्र बनाएका थिए ।
चित्र हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि अग्रज पत्रकार चन्द्र भण्डारीले निस्वार्थ भावले कला पस्किरहेको बहुप्रतिभाशाली कलाकार केसाङ लामालाई समाजले चिन्न नसकेको धारणा राखे ।
समाजमा सत्कर्म गरेर अघि बढ्न खोज्ने व्यक्तिलाई अनेक लाञ्छना लगाएर गिराउने र खुट्टा तान्ने प्रवृत्ति पछिल्लो समय मौलाउँदै गएको बताउँदै उनले कोही व्यक्ति अघि देखिए सबैको ध्यान गिराउनेतर्फ जाने गरेको पाइएको बताए ।
आधुनिकताको नाममा आफ्नो संस्कृति नै लोप हुन लागेको अवस्थामा लोक संस्कृति र नेपाली पहिचान बोकेर हिँड्ने कलाकारहरुलाई समाजले उच्च स्थान दिनुपर्ने भण्डारीले बताए । भण्डारीले मन्दिरको दिगो व्यवस्थापनका लागि अक्षयकोष निर्माण गरेर अघि बढ्नसमेत मन्दिर संरक्षण समितिलाई सुझाव दिए ।
फरक प्रसंगमा भण्डारीले विषाक्त बनिरहेको हाम्रो दैनिकीलाई फर्केर हेर्न र त्यसबाट बच्न विषादी न्यूनीकरणमा लाग्न सजगसमेत गराए । उनले कार्यक्रममा प्रयोग हुने माला र खदालाई लामो समय टिकाउन फर्मालिन प्रयोग गरी विषाक्त बनाउने गरिएको बताउँदै आफ्नै स्वदेशी र स्थानीय स्रोत साधनको प्रयोग बढाउन सुझाए ।
कार्यक्रममा बोल्दै साहित्यकार पर्शुराम तिम्सिना, प्राज्ञ सुभद्रा भट्टराई, जनप्रतिनिधि कुन्दन निरौला, मेचीनगर–५ का अध्यक्ष कनकबहादुर कार्कीलगायतले कलाकार लामाको सामाजिक जीवनको चर्चा गर्दै उनको प्रतिभाको प्रशंसा गरे ।
सोही अवसरमा कलाकार लामालाई प्रशंसा पत्रसहित सम्मान गरिएको थियो ।
नवदुर्गा तथा शिवालय मन्दिर संरक्षण समिति अध्यक्ष तीर्थ सुनुवारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्दिर निर्माण समिति सचिव विकास भट्टराई तथा संचालन निर्माण समिति अध्यक्ष कृष्ण सुवेदीले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु