
मेचीनगर । बेलबारी एफसी मोरङ झापाको मेचीनगर ७ स्थित जोरसिमलमा जारी “प्रथम निलसरी च्यालेन्ज कप २०८२” को सेमिफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा पाहुना टोली युनाइटेड कर्साङ एफसी भारतलाई २(१ गोल अन्तरले पराजित गर्दै बेलबारी अन्तिम चारमा प्रवेश गरेको हो । योसंगै बेलबारीले आइतबार सेमिफाइनलमा रेडहर्स एफसी इलामसंगको भेट पक्का गरेको छ ।
खेलमा सुरूवाती अग्रता युनाइटेड कर्साङ एफसीले लिएको थियो । युनाइटेड कर्साङका लागि खेलको ३० औं मिनेटमा सदिस राईले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । दुवै टिमले आक्रमक खेले पनि पहिलो हापमा थप गोल हुन सकेन ।
दोस्रो हापको सुरूवाती समयदेखि नै केही दबाब सृजना गर्दै खेलेको बेलबारीको तर्फबाट ४७ औं मिनेटमा आशिष चापागाईं गोल गर्दै टिमलाई बराबरीको स्थितिमा पुर्याए । त्यसपछि थप प्रतिष्पर्धात्मक बनेको खेलमा दुवै टिमले थुप्रै अवसरहरू सदुपयोग गर्न सकेनन् ।
बारम्बार आक्रमक खेलेको बेलबारीको तर्फबाट खेलको ७५ औं मिनेटमा आशिष चापागाईंले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई अग्रता दिलाए । उनको उक्त गोल नै टिमको जितको लागि निर्णायक बन्यो ।
प्रतियोगितामा उत्कृष्ट खेल्दै व्यक्तिगत दुई गोल गर्न सफल विजेता टिमका आशिष चापागाईं म्यान अफ द म्याच घोषित भए । उनलाई आदिवासी जनजाति महासंघ मेचीनगर समन्वय परिषद् अध्यक्ष राम बहादुर मगर, पुर्व अध्यक्ष ओमप्रकाश खापुङ, लोत्से इङलिस स्कूलका प्रिन्सिपल धनराज थापामगरलगायतले नगद दुई हजार पाँच सयसहित ट्रफी प्रदान गरे ।
प्रतियोगिता अन्तर्गत भोलीदेखि सेमिफाइनल खेल सञ्चालन हुँदैछ । पहिलो सेमिफाइनल खेलमा शनिबार आयोजक युथ अफ जोरसीमल र झापा एफसी राजगढ बिच दिनको ४ बजेबाट हुने आयोजक समितिका सचिव सञ्जय मेचेले जानकारी दिए ।
प्रतियोगिताको विजेताले २ लाख नगदसहित ट्रफी तथा उपविजेता १ लाख प्राप्त गर्ने छन् । त्यस्तै प्रतियोगितामा म्यान अफ द सिरिजले पाँच हजार प्राप्त गर्नेछन् भने प्रत्येक खेलको म्यान अफ द म्याचले नगद २ हजार ५ सय प्राप्त गर्नेछन् । त्यस्तै अन्य व्यक्तिगत विधामा पनि नगदसहित पुरस्कार प्रदान गरिने आयोजक समितिका अध्यक्ष सुन्दर मेचेले जानकारी दिए ।
हाम्रो खबरपाटी
प्रतिकृया दिनुहोस्