
मेचीनगर । झापा एफसी राजगढलाई पराजित गर्दै आयोजक युथ क्लब जोरसिमल मेचीनगर ७ स्थित जोरसिमलमा जारी प्रथम निलसरी च्यालेन्ज कप २०८२ को फाइनलमा प्रवेश गरेको छ ।
आज सम्पन्न प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा आयोजकले झापा एफसीलाई १(० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । यो जितसंगै आयोजकले एक लाख नगदसमेत सुरक्षित गरेको छ ।
राष्ट्रिय खेलाडी देवेन्द्र तामाङ र रेजन सुब्बा सहित मैदान उत्रिएको आयोजकसंग झापा एफसीले तुलानात्मक रूपमा सन्तोषजनक खेलेको थियो । आयोजकको तर्फबाट राष्ट्रिय खेलाडी रेजन सुब्बाले खेलको ३४ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसपश्चात् दुवै टोलीले आक्रमक खेल्दै गोल गर्ने थुप्रै प्रयासहरू गरेपनि त्यो सम्भव भएन । आयोजकको फाइनल यात्राको लागि उनको एक गोल नै निर्णायक बन्यो ।
प्रतियोगितामा उत्कृष्ट खेल्दै टिम जिताउन गोल गर्ने रेजन सुब्बा म्यान अफ द म्याच घोषित भए । उनलाई निवर्तमान कोशी प्रदेश सांसद श्रीप्रसाद मैनाली, मेचीनगर ७ का वडाध्यक्ष प्रल्हादमणी ओली, पुर्व झापा जिल्ला खेलकुद विकास समिति अध्यक्ष चन्द्र प्रसाईं, पवन मेचेलगायतले नगद दुई हजार पाँच सय नगदसहित ट्रफी प्रदान गरे ।
प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आइतबार बेलबारी एफसी मोरङ र रेडहर्स इलाम एफसीबिच हुने आयोजक समितिका सचिव सञ्जय मेचेले जानकारी दिए । उनका अनुसार यी दुई टिम बिचको खेल दिउँसो ४ बजेबाट हुनेछ ।
प्रतियोगिताको विजेताले २ लाख नगदसहित ट्रफी तथा उपविजेता १ लाख प्राप्त गर्ने छन् । त्यस्तै प्रतियोगितामा म्यान अफ द सिरिजले पाँच हजार प्राप्त गर्नेछन् भने प्रत्येक खेलको म्यान अफ द म्याचले नगद २ हजार ५ सय प्राप्त गर्नेछन् । त्यस्तै अन्य व्यक्तिगत विधामा पनि नगदसहित पुरस्कार प्रदान गरिने आयोजक समितिका अध्यक्ष सुन्दर मेचेले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्