मेचीनगरको चारवटा वडामा १९ जना क्षयरोगी भेटिए १,१३६ जनाले लिए सेवा

2025-05-13 मा प्रकाशित

मेचीनगर । मेचीनगरको चार वटा वडामा एआई प्रविधिबाट छातीको एक्सरे परीक्षण गर्दा १९ जना क्षयरोगी भेटिएका छन् ।
मेचीनगर–४, ७, १२ र १५ नम्बर वडामा सञ्चालन गरिएको स्वास्थ्य परीक्षण शिविरमा एक हजार १३६ जनाले उपचार सेवा पाउँदा उक्त संख्यामा क्षयरोगीका विरामी भेटिएको स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले जानकारी दिइन् ।
चार वटै वडाबाट आशंका गरिएका २३६ जनाको खकार परीक्षणका लागि नमूना संकलन गरिएको छ ।
सोमबार वडा नम्बर १५ मा गरिएको शिविरमा २८१ जना मध्ये २८० जनाले क्षयरोग पहिचानका लागि एआई प्रविधिबाट छातीको एक्सरे परीक्षण गरेका थिए । त्यसमध्ये ६ जना क्षयरोगीका विरामी भेटिएका छन् । ७५ जनाको खकार परीक्षणका लागि नमूना लिएको छ ।


शिविरमा सुगरको ग्लुकोजको मात्रा जाँच गरिएकोमा ६४ जनाको प्रि–मधुमेह देखिएको छ । त्यस्तै मिर्गौलाका लागि पिसावमा प्रोटिनको जाँच गर्दा ३१ जनामा पोजेटिभ देखिएको थियो ।
शिविरमा वडाध्यक्ष गुणराज भट्टराई (राजन), प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, स्वास्थ्य केन्द्रका प्रदीप राजबंशी लगायतको उपस्थिति रहेको थियो ।
नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले क्षयरोगी पहिचान गरी उपचार गराउन आवश्यक भएकोले एआई प्रविधिबाट छातीको एक्सरे परीक्षणको मेसिन ल्याएर सेवा प्रदान गरिएको बताए ।
आइतबार वडा नम्बर १२ मा गरिएको शिविरमा ३६२ जनामा ४ जना क्षयरोगी, ७५ जनाको खकारको नमूना संकलन, शनिबार वडा नम्बर ७ मा गरिएको शिविरमा २६३ जनामा ३ जना क्षयरोगी, ६६ जनाको खकार संकलन र शुक्रबार वडा नम्बर ४ मा गरिएको शिविरमा २३० जनामा ६ जना क्षयरोगी, २० जनाको खकार संकलन गरिएको थियो ।
गत माघ ८ र १० गते वडा नम्बर २ र १० मा गरिएको उक्त शिविरमा ८ जना क्षयरोगीका विरामी भेटिएको स्वास्थ्य शाखाले जनाएको छ ।
त्यसबेला वडा नम्बर २ मा ५ जना मध्ये ३ जना शिविर र २ जना खकार संकलन गर्दा क्षयरोगीका विारमी भेटिएको थियो ।
यसैगरी वडा नम्बर १० मा शिविरमा क्षयरोगी भेटिएन तर, खकारको नमूना संकलन गर्दापछि ३ जना क्षयरोगी भेटिएको थियो ।
शिविरमा कोशी प्रदेशबाटै आएका एआई विज्ञ डाक्टर विनोद मण्डल, मेचीनगर आधारभूत अस्पतालका मेडिकल अधिकृत डाक्टर विकास दास, रेडियोग्राफर सहितको प्राविधिक टिम, स्वायमसेवक, स्वास्थ्य शाखा, स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरु, नगरप्रहरी उपचार सेवामा खटिएका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु