सकारात्मक सोचले जीवनमा ठूलो परिवर्तन ल्याउँछ : नगरप्रमुख बुढाथोकी

2025-05-13 मा प्रकाशित

मेचीनगर । मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपाल बुढाथोकीले ध्यान र सकारात्मक सोचले जीवनमा ठूलो परिवर्तन ल्याउँने बताएका छन् ।
मेचीनगर बचत तथा ऋण सहकारीको संस्थाको सभाहलमा आयोजित ध्यान तथा प्रवचन कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै नगर प्रमुख बुढाथोकीले ध्यानप्रति आफ्नो पनि झुकाव बढ्न थालेको बताए ।
उनले मेचीनगरवासीलाई ध्यान र योगमार्फत स्वस्थ र अनुशासित जीवनशैलीमा हिँडाउन अभियान सञ्चालन गर्ने बताए ।
उनले अनुशासित जीवन आजको अपरिहार्य आवश्यकता भएको बताउँदैै सकारात्मक सोच र खानपानमा ध्यान दिनसके मानिस निरोगी हुने बताए ।
मेचीनगर–११ स्थित हिमालय योगिष फाउन्डेसनले आयोजना गरेको उक्त शिविरमा गुरु योगिषले सहभागीहरुलाई ध्यान, सकारात्मक सोच र स्वस्थ रहन अपनाउनु पर्ने जीवन शैलीका बारेमा प्रवचन दिएका थिए ।
उनले समाजमा परिवर्तन ल्याउन आम मानिसमा सकारात्मक सोचको विकास हुन जरुरी रहेको चर्चा गर्दै ध्यानले मानिसको जीवन र समाजमा ठूलो परिवर्तन ल्याउने बताए ।
सामाजिक व्यक्तित्व चन्द्रमणि पौडेलले स्वागत र साधक बसन्त बिष्टले सञ्चालन गरेको उक्त शिविरमा मेचीनगरकी उपप्रमुख मीना उप्रेती, नेपाली कांग्रेस झापा क्षेत्र नं. १ का सभापति इन्द्र बुढाथोकी, नेकपा एमाले मेचीनगरका अध्यक्ष राजु कार्की, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नरेन्द्र खड्का, मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेम प्रसाई लगायतको विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु