अव रास्वपालाई पहिलो शक्ति हुनबाट कसैले रोक्न सक्दैन : केन्द्रीय कार्यवाहक सभापति अर्याल

2025-05-13 मा प्रकाशित

झापा । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय कार्यवाहक सभापति डोलप्रसाद अर्यालले रास्वपालाई अव पहिलो शक्ति हुनबाट कसैले रोक्न र छेक्न नसक्ने बताएका छन् । सोमबार झापाको मेचीनगरमा रास्वपको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
देशमा सुशासन ल्याउँछु, भ्रष्टचार अन्त्य गर्छु र देशको मुहार फेर्छु भनेर लगेकै कारण पार्टी सभापति रवि लामिछानेलाई सरकारले झुटो मुद्दा लगाएर जेल पठाएको उनको भनाई थियो ।
‘आफूहरु जेलमा कोचीने डरले सरकारले झुटा मुद्दा बनाएर रास्वपालाई सक्न पार्टी अध्यक्षलाई थुन्यो, उनले भने, ‘तर रास्वपा कमजोर भएन बरु झाँगीदै गएकोछ ।’ पार्टी प्रवेशको लहर देखेर उत्साहित बनेका अर्यालले थपे, ‘हामी झाँगीदै छौं फैलिँदै छौं ।’
‘अहिले सम्म भाषणै सुनेर हाम्रो जीवन बित्यो, न भाषण गर्नेले देश बनाए नत हामीले कार्वाही नै गर्याै, ’ उनले भने, ‘अव भाषण होइन काम गर्ने समय आएको छ, त्यसैले रास्वपालाई एक पटक मौका दिनुहोस् ।’


रवि लामिछानेले गल्ती नगरेको दावीगर्दै उनले भने, ‘देशमा न्याय मरेको छैन, कानुन मरेको छैन रविले न्याय पाउँछन् ।’ उनले मञ्चको अग्रभागमा बसेका ज्येष्ठ नागरिकलाई देखाउँदै भने, ‘युवाहरु मात्र होइन ज्येष्ठ बुबा –आमाहरुको समेत रास्वपामा प्रवेशको लहर नै चलेको छ । अव रास्वपालाई पहिलो शक्ति हुनबाट कसैले रोक्न सक्दैन ।’ उनले रास्वपाले बहुमत ल्याएर सरकार बनाएको दिन सबै भ्रष्टहरु देश छोडेर भाग्ने दावी गरे ।


पार्टीकी केन्द्रिय सदस्य  एवम् संघीय सांसद  डा तोसिमा कार्कीले लामो समय देशको बागडोर सम्हाल्नेहरुलाई लक्षित गर्दै भनिन्, ‘हावाले गति बदली सक्यो, अव डढाएर खरानी बनाउँछ । उनले आगो लगाउनेहरुले हावाले गति बदल्छ भन्ने कुरा भुलेको बताइन् ।
‘झापा जिल्लाका गाउँ गाउँमा हात्ती पसेर मानिस मारेको छ, बाली सखाप पारेको छ, उनले भनिन् सरकार भने सिंहदरबार र बालुवाटारमा मानिस पनि छिर्न नदिनेगरी पर्खाल लगाएर बसेको छ ।’ जनतालाई पीँडा हुँदा सरकारलाई दुख्छकी दुख्दैन ? उनले प्रश्न गरिन । । उनले दलहरुले भूमिहिन जनतालाई लालपूर्जा दिन्छौं भनेर पटक पटक झुक्याउँदै भोट माग्दै आएकोले अव नझुक्किन अनुरोध गरिन । केन्द्रिय सदस्य डा कार्कीले रास्वपाले सरकारको बागडोर लिएको खण्डमा ५ वर्षमा सबै खाले समस्या समाधान गर्ने दावी गरिन् । उनले भनिन्, ‘एक पटक हामीलाई जाँचेर हार्नु होस्, २०७९ निर्वाचनमा ११ लाख बढी मत दिएर राजनीतिको विश्वविद्यालयमा भर्ना गराउनु भएको छ । अव हामी परीक्षा दिन चाहन्छौ । ८४ मा हामीलाई त्यो मौका दिनु होला ।’
झापा मेरो मावली घर हो, मामा घरमा आएकी छु । अव आर्शिवादले मात्र पुग्दैन देश बनाउने चावी दिनु होस । त्यसको लागि घण्टीमा मतदान गर्नु होला । उनले आफू डाक्टर भएर निजी कमाइमा रमाउन नचाहेको बताउँदै आम नेपालीको मुहारमा खुसी दिन राजनीतिमा आएको दावी गरिन् ।
७७ जिल्लामा सबै भन्दा बढी उखान टुक्कको शिकार भएको जिल्ला झापा भएको बताउँदै उनले भनिन्, ‘झापाले उखान टुक्काका विज्ञलाई जितायो, अव काम गर्नेलाई जिताउनु पर्छ ।’
कार्यक्रममा केन्द्रिय सह प्रवक्ता रमेश प्रसाई, केन्द्रिय सदस्य ज्वाला संग्रौला, प्रदेश महामन्त्री लाल बिक्रम थापा, झापा जिल्लाका कार्यवाहक सभापति प्रकाश पाठक, जिल्ला सहसचिव भिम कुवँर लगायतले बोलेका थिए ।
मेचीनगर सभापति कमल गौतमको सभापतित्व रहेको कार्यक्रमको सञ्चालन प्रेमराज घिमिरेले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु