मेचीनगर – ११ ले दियो, किसानलाई ५० प्रतिशत अनुदानमा धानको बीउ र मल

2025-05-19 मा प्रकाशित

मेचीनगर । मेचीनगर – ११ वडा कार्यालयले कृषकलाई उन्नत जातको धानको बीउ तथा मल ५० प्रतिशत अनुदानमा वितरण सुरु गरेको छ ।
सोमबार मेचीनगर – ११ स्थित साना किसान कृषि सहकारी संस्थाको सभाहलमा आयोजित बीउ वितरण कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष रुद्रप्रसाद डाँगीले कृषकलाई व्यावसायिक खेतीमा आत्मनिर्भर बनाउनुका साथै उत्साहित बनाउन वडाले अनुदानमा बीउ वितरण गरेको बताए । उनले किसानको मागका आधारमा प्रतिविघा २५ किलोका दरले धानको बीउ र प्रतिकठ्ठा अढाई किलोको दरले मल उपलब्ध गराएको उनको भनाइ थियो । ‘व्यावसायिक कृषि उत्पादनमा प्रोत्साहित गर्न हामीले किसान लक्षित कार्यक्रम गर्दै आएका छौं,’ उनले भने, ‘अघिल्लो आर्थिक वर्षमा कृषि औजार, टनेल खरिद तथा जैविक मल उत्पादनमा ५० प्रतिशत अनुदान दिएका थियौं, यो वर्ष धानको बीउ ।’
उनले आगामी आर्थिक वर्षमा किसान लक्षित थप कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए ।


वडाले साना किसान कृषि सहकारी मार्फत रञ्जीत, जिरा मसिनो, गरिमा गरी तीन प्रजातिको धानको बीउ वितरण गरेको वडा सचिव तिलबहादुर राजबंशीले बताए । ‘वडाले धानको बीउ खरिदको लागि कोटेसन आब्हान गरेको थियो । तीन वटा कोटेसन परेकोमा साना किसानको स्वीकृत भयो,’ अहिले धानको बीउ खरिदको लागि टाडा जानु नपर्दा किसान समेत उत्साहित देखिएको उनले बताए ।
सहकारी संस्थाका अध्यक्ष डम्बरु बल्लभ अधिकारीको सभापतित्व आयोजित कार्यक्रममा वडा सदस्य शक्तिमान थेवे, श्यामकुमार सिवाकोटी, रञ्जीता नेपाली,लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रको सञ्चालन सहकारी संस्थाकी व्यवस्थापक विन्दा मेचेले गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु