आगलागीका कारण घर विहिन बन्यो अधिकारी परिवार, समयमा दमकल नपुग्दा स्थानीय आक्रोशित

2025-05-20 मा प्रकाशित

मेचीनगर, ६ जेठ । मेचीनगर वडा नं. ९ थोप्लेबिरानका स्वस्तिका अधिकारीको घर मंगलबार बिहान हेर्दा हेर्दै एकै छिनमा खरानी भयो । विहान साढे ८ बजेतिरआगलागी सुरु हुनासाथ स्थानीयबासीले दमकल गुहारे पनि समयमा दमकल नपुगेपछि अधिकारी परिवार घर विहिन बनेको छ ।

उनीहरुले सबैभन्दा पहिला मेचीनगर नगरपालिकाकै दमकल बोलाए । तर, दमकल घटनास्थलमा आइपुग्दा आगोको लप्काले अधिकारीको दुई तले घर लगभग खरानीमा परिणत भइसकेको थियो । समयमा दमकल नआएको भन्दै आक्रोशित बनेका स्थानीयले दमकल फर्काइदिएका थिए ।
अधिकारीको घर आगलागीबाट खरानीमा परिणत हुन एक घण्टा भन्दा बढी समय लागेन । घरमा मानिसहरुले लगाएको एकसरो लुगा बाहेक केही बचेन । अन्नतपात डढ्यो । भाडावर्तन डढ्यो । काठ, टिन र ईटाको गारोले बनेको दुई तले घर हेर्दाहेर्दै स्वाहा भयो ।

प्रहरीले मुचुल्का गरी रु. १० लाख ८० हजार बराबरको धनमाल क्षति भएको जनाएको छ । आगलागीबाट सर्वस्व गुमाएको अधिकारी परिवारलाई नेपाल रेडक्रस सोसाइटी धुलाबारी शाखाले राहत सामम्री दिएको छ । त्रिपाल, भाडावर्तन, लुगाफाटो लगायतका सामान पीडित परिवारले पाएको छ ।

स्थानीयबासीका अनुसार अधिकारीको घरमा आगलागी हुँदा मेचीनगरको दमकल खुट्टिडाँगीको विभिन्न सडकमा फन्फनी घुमिरहेको थियो । दमकलका कर्मचारीहरुले आगलागी भएको घरसम्म पुग्ने सही लोकेसन पत्ता लगाउन सकेनन् ।

धुलाबारी चोकबाट उत्तर खुट्टिडाँगी जाने मुख्य सडक (शहीद मार्ग) निर्माणाधीन अवस्थामा छ । धुलाबारी चोकबाट वडा नंं १० र वडा नं. ९ को सीमानासम्म सडक निर्माणमा बिलम्ब हुँदा लथालिङ्ग अवस्था छ । जताततै निर्माण सामग्री थुपारिएका छन् । जताततै खाल्डाखुल्डी खनिएको छ ।

सबैभन्दा समस्या त निर्माणाधीन ड्रेनमा छ । स्थानीय गल्ली र मानिसहरुको घरतिर जान निर्माणाधीन ड्रेन अवरोध बनेको छ । दमकलले पनि यही सकस व्यहोर्नु पर्यो ।

मुख्य सडकबाट कमल चोक हुँदै आगलागी भएको घरसम्म जान जुन बाटो जानु पर्ने थियो, दमकलका कर्मचारीले सही लोकेसनको भेउ नै पाएनन् । घरि यताको गल्ली र घरि उताको गल्ली चहार्दा चहार्दै समय बित्यो । आखिर घटनास्थलमा दमकल समयमा पुग्न सकेन ।

बेलैमा दमकल नपुग्नुमा निर्माणाधीन अवस्थाका सडकहरुको अवस्था बारेमा दमकलका कर्मचारी बेखबर हुनु ठूलो कमजोरी हो । नगरपालिका आफैले निर्माण कार्यको अनुगमन गरिरहेको सडकमा कताबाट दमकल जान सक्छ र सक्दैन भनेर पूर्वतयारी गर्नु पर्ने थियो ।

सडकको हालत र कर्मचारीहरुको अलमल नै थोप्लेबिरान आगलागीमा बेलैमा दमकल नपुग्नुको मुख्य कारण हो । आगामी दिनमा यस्तो गल्ती नदोहोरिनेतर्फ नगरपालिका सचेत बन्नै पर्छ । समयमा दमकल नपुगेकै कारण आइतबार पनि मेचीनगर–३ स्थित भावाना चोकका लालबहादुर सुब्बाको टाढे घर जलेर नष्ट भएको थियो । सो घटनामा उनीहरुले लगाएको कपडा बाहेक सबै जलेर नष्ट भएको थियो । यी दुबै घटना पछि  मेचीनगरपालिकाले दुख ब्यक्त गरेको छ ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु