
मेचीनगर । राष्ट्रपति महिला सशक्तिकरण योजना अन्तरगत सीप प्रर्वद्धन कार्यक्रमका लागि मेचीनगरमा सावुन, सर्फ, हार्पिक र फिनेल बनाउने तालिम सुरु गरिएको छ । मेचीनगर नगरपालिकाले ‘सीप सिकौँ, स्वरोजगार बनौँ’ भन्ने नारासहित राष्ट्रपति महिला सशक्तिकरण योजना अन्तरगत सीप प्रर्वद्धन कार्यक्रममा यहाँका महिलाहरुलाई सावुन, सर्फ, हार्पिक र फिनेल बनाउने तालिम दिएको हो ।
मेचीनगर–८ स्थित सीप विकास केन्द्रको नयाँ भवनमा उक्त तालिम बुधबारदेखि पाँच दिनसम्म सञ्चालन हुनेछ । तालिमको उद्घाटन प्रमुख अतिथि मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीले गरेकी थिइन् ।
महिलाहरुलाई सीप सिकाएर उद्यमी बनाउने लक्ष्यसहित विभिन्न प्रकारका कार्यक्रम र तालिमहरु सुरु गरिएको उनले बताइन् ।
सीप विकास केन्द्रको नयाँ भवनको चाँडै उद्घाटन गरेर महिलाहरुलाई यसै भवनमा सबै खालका सीप सिकाएर दक्ष बनाउने उनको भनाई छ । यसै भवनमा कोशेली घर पनि निर्माण गरिने उपप्रमुख उप्रेतीले बताइन् ।
कार्यक्रममा प्रमुख प्रशसाकीय अधिकृत अग्निप्रसाद अधिकारी, कार्यपालिका सदस्य कविता खनाल मिजार लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । मेचीनगर–८ का वडाध्यक्ष गिरिराज धमलाको अध्यक्षतामा सुरु तालिमको महिला विकास अधिकृत जयन्ती खरेलले स्वागतसहित औचित्यमाथि प्रकाश पारेकी थिइन् ।
नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन भएको तालिमको आयोजकका रुपमा जिल्ला लघु उद्यमी समूह संघ झापा रहेको छ । उक्त संघकी अध्यक्ष निर्मला चौहान भण्डारीले तालिमको सहजीकरणसहित प्रशिक्षण दिइरहेकी छन् । तालिममा नगरका ३० जना महिलाहरु सहभागी रहेका छन् ।
प्रतिकृया दिनुहोस्