
मेचीनगर । झापाको मेचीनगर – ७ स्थित झापा नेशनलले प्रविधिमा फड्को मार्दै गएको छ । केही वर्षअघिदेखि विज्ञानका विभिन्न प्रदर्शनीमा खरो उत्रदै गएको यस विद्यालयले यतिखेर चन्द्रमालाई नजिकैबाट नियाल्न सकिने रिफ्लेक्टिङ टेलिस्कोप निर्माण गरेर मेचीनगरमै छुट्टै पहिचान स्थापित गर्न सफल भएको छ । यस टेलिस्कोपले पृथ्वीबाट नजिकका ग्रहहरुलाई समेत राम्रोसंग हेर्न सकिने छ ।
विद्यालयको कक्षा ९ मा अध्ययनरत छात्र हार्दिक कट्टेल, निर्देश ढुंगाना र छात्रा एन्जिला आचार्यले करिव तीन साताको मेहनतपछि सो टेलिस्कोप निर्माण गर्न सफल भएको विद्यालयका प्रिन्सिपल कमल भेटवालले जानकारी दिए ।
बिहीबार विद्यालय परिसरमा टेलिस्कोप प्रदर्शन गर्दै प्रिन्सिलप भेटवालले भने, ‘हामीले आवश्यक सामाग्री उपलब्ध गरायौं, विद्यार्थीले प्रविधिको प्रयोग गर्दै आफ्नो कौशलता र सीप प्रस्तुत गरे । आज प्रविधिको क्षेत्रमा झापा नेशनल निक्कै अगाडि बढेको छ ।’
झापा नेशनलले तीन वर्ष अघि रोवटिक महोत्सव समेत आयोजना गरेको थियो । विद्यार्थीहरुले बनाएका बिभिन्न किसिमका २० वटा रोवट तथा इलेट्रोनिक साइकल प्रदर्शनमा राखिएको थियो । विद्यालयका को अडिनेटर अनुप सुवेदी का अनुसार विद्यार्थीहरूले रातको समयमा चन्द्रमा र ताराहरू अवलोकन गर्न सक्ने क्षमताको टेलिस्कोप तयार पारेको बताए । उनका अनुसार यो कार्यले विद्यार्थीमा वैज्ञानिक सोच विकास गर्न ठूलो मद्दत पुग्ने छ ।
यस पटक विद्यालयले झापाको विर्तामोडमा भोलिबाट आयोजना हुनलागेको कोशी प्रदेश स्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीमा आफ्नो विद्यालय तथा विद्यार्थीहरुको कौशलता प्रस्तुत गर्न सो रिफ्लेक्टिङ टेलिस्कोप निर्माण गरेको र सो टेलिस्कोप प्रदर्शनीमा राखिने प्रिन्सिपल भेटवालले जानकारी दिए ।
विद्यालयले विज्ञानका बिभिन्न प्रयोगहरुमा सफलता हासिल गर्न थालेपछि विद्यालय तथा विद्यार्थी र अभिभावकहरु उत्साहित बन्न थालेका छन् ।
प्रतिकृया दिनुहोस्